समाचार सुन्नुहोस :
काठमाडौँ – पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै पहिचान पक्षधर समूहले आह्वान गरेको यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ। मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबारका लागि अरुणपूर्वका नौ जिल्लामा यातायात बन्दको घोषणा गरेको हो। आन्दोलनकारीहरूले झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा यातायात ठप्प पारेका छन्। पूर्व-पश्चिम राजमार्ग, मेची राजमार्ग तथा भित्री सडकमा सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन भने केही स्थानमा मात्र साना सवारी चलेका छन्।
यातायात अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्। कतिपय स्थानमा चलेका सवारी साधनहरूलाई आन्दोलनकारीले रोकेको खबर प्राप्त भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीम दाहालका अनुसार ताप्लेजुङमा बन्दको प्रभाव बढी देखिएको छ भने अन्य जिल्लाहरूमा सामान्य असर परेको छ। इटहरी लगायतका केही क्षेत्रमा प्रदर्शनकारीहरूले सडकमा निस्किएर विरोध जनाएका छन्।
आन्दोलनकारीहरूले केबलकार निर्माणको निर्णय खारेज गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने, प्रदर्शनका क्रममा भएको गोली प्रहारको न्यायिक छानबिन गर्नुपर्ने तथा पाथीभरा जाने बाटोको काफ्लेपाटी क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने जस्ता माग अघि सारेका छन्। यसअघि, केबलकार निर्माणको विरोध गरिरहेका समूह र प्रहरीबीच गत शनिबार झडप भएको थियो। बलुडाँडामा झडप भएको घटनामा दुवै पक्षबाट केही घाइते भएको बताइएको छ।