काठमाडौं – गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले विवाह गर्न हतार गरेको स्वीकार गरेकी छन् । कसैले विवाह गर्दा डिभोर्स हुन्छ भनेर नगर्ने बताउँदै उनले धेरै सोचेर नै यो निर्णय लिएको खुलाएकी छन् । उनले भनेकी छन्, ‘कसैले बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । हिन्दु संस्कार अनुसार त झन् ७ जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ । कसैको आमाबाबुले छोरीको डिभोर्स होस् भन्ने चाहँदैनन् । हामीले सोचेर नै यो निर्णय लिएका हौँ, दुई जना र दुई जनाको परिवारबिच कुरा गरेर ।’
उनले यस प्रकरणमा आफ्नो पतिलाई गाली नगर्न पनि आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘आफूले माया गरेको मान्छेलाई कसैले गाली गर्दा आफूले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ । मलाई साथ दिनुहोस् तर उहाँलाई नराम्रो नभन्नु होला । बरु मलाई गर्नुहोला । खरानी भएको मान्छेलाई आगोसँग डर हुँदैन ।’