काठमाडौं – नान्नापत खोन्चरोएन्कको अर्धशतकमा थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । थाइल्याण्डले शनिवार नेपाललाई ४ विकेटले हराएको छ ।
१ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले ५८ बलमा ६ चौका प्रहार गरिन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका लागि कविता र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए ।
जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ । खेलेको दुवै खेलमा पराजित नेपाल अंकबिहीन छ । आफ्नो तेस्रो खेल नेपालले आइतवार नेदरल्याण्ड्ससँग खेल्नेछ । थाइल्याण्डले तेस्रो खेलमा सोमवार नेदरल्याण्डसँग खेल्नेछ । सहभागी तीन देशले एकआपसमा समान ३ पटक खेलेपछि शिर्ष स्थानमा रहने टिम च्याम्पियन हुनेछ ।