समाचार सुन्नुहोस :
काठमाडौँ – वासिङ्टनको आकाशमा भएको विमान दुर्घटनामा परि मृत्यु भएका ५० जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार पोटोम्याक नदीबाट मात्रै ४० जनाको शव निकालिएको छ भने थप १० जनाको शव अन्य स्थानमा भेटिएको छ। तर, अझै १७ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।
यो दुर्घटना बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको थियो। विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको विमान वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेनाको ब्ल्याक हक हेलिकप्टरसँग आकाशमै ठोक्किएको थियो।
दुर्घटनापछि जहाज र हेलिकप्टर दुवै आगोको लप्कासहित पोटोम्याक नदीमा खसेका थिए। विमानमा चालक दलका चार सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना सैनिक थिए। अहिलेसम्म कसैलाई जीवित भेट्न सकिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै दुर्घटनामा कोही पनि जीवित नरहेको पुष्टि गरेका छन्।