बोली कहिले गुलियो मिठाई बन्छ त कहिले डरलाग्दो बारुद । समय, सुविधा र समस्यालाई लिएर बोली र लेखनमा पलपल परिवर्तन हुने गर्दछ । यहाँ सबैलाई राम्रो बन्ने रहर हुन्छ। नराम्रो गरौं, नराम्रो बनौं, कसलाई पो रहर होला र ! राम्रो पढ्ने, राम्रो कमाउने, राम्रो परिवार बसाउने, राम्रो घर बनाउने सबैको हाई हाई हुने र कसैको आँखामा राख्दा पनि नबिझाउने रहर पनि सबैलाई हुन्छ ।
मानिस लोभी छ । अरूको प्रगतिमा थोरै जल्छ, यो मानवीय गुण पनि हो । सकारात्मक ईगोले मानिसलाई चुनौतीपूर्ण मोडतर्फ धकेल्छ र उसले अझ मेहनत बढाउँछ अनि छिट्टै लक्षमा पुग्छ । यो भयो व्यक्तिगत कुरा । अब देशका कुरा गरौं । ढुङ्गे युग सकिएको पनि हजारौँ बर्ष भयो तर अझै पनि चेपाङ बस्तीमा र राउटे बस्तीमा हेर्दा कसरी भन्न सकिन्छ आधुनिक युग वा २१ औं शताब्दीमा छन् भनेर ? दुर्गम पहाडी जिल्लाहरू एक पटक मजाले घुमौं, रुकुम, सल्यान, दार्चुला, रोल्पा, कर्णाली, मुगु लगायत पुरै पहाडी जिल्ला घुमौं । एक पटक पुरै देश घुमौं ।
आज मानिस संसारभर पुगेका छन् । विशेषतः नेपालीहरू रोजीरोटी र सुखी परिवारको लागि संसारका विभिन्न मुलुकहरूमा पुगेका छन् । उनीहरूले देश छोडेपछि फरक संसार देख्छन्, खाडीको बालुवा खानीमा कसैले नसोचेको विकास देखेका छन्, युरोपका शहरहरू सोच्नै नसकिने विकासका मोडल देखेका छन्, भोगेका छन्, एसियाका अति विकसित मुलुकहरूमा राज्यका सरकारी संयन्त्रहरू चुस्त र प्रभावकारी देखेका छन् ।
राज्य नागरिकहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाको लागि सधैँ जागरूक रहेको पनि देखेका छन्। अनि त्यतिबेला आफू जन्मेको पिँढी सम्झन्छन्, खेलेको आँगन सम्झन्छन् अनि शताब्दी सँगै विकास हुनै नसकेको आफ्नो माटो र भाग्य सम्झन्छन् । कसरी सहन सक्छ एउटा नागरिकले राज्यलाई कर तिरेको बापतको फिडब्याक नपाउँदा आउने पीडा ? कसरी बिर्सन सक्छ चुनावमा देखाइएको सपना र दिइएका आश्वासनका अक्षरशः पालना हुन नसकेका वाचाहरू ?
देशभित्रै सबै कुरा छ । स्रोतहरू छन्, ठूलो युवा जनशक्ति पनि छ, जंगल छ, जडीबुटी छ, जाँगर पनि छ तर जतन र जागरूकता छैन । परिकल्पना र परिचालन छैन । तिर्खा छ, तिर्सना छैन, तिरस्कार छ, तृष्णा छैन । नागरिक तिर्खाएको छ, पानी छैन, भोकाएको छ, खाना छैन, नाङ्गो छ, नाना छैन । बौद्धिकता छ, तर बुद्धि चलाउने ठाउँ छैन ! यो छैन, त्यो छैन, ऊ छैन, अनि पलायन हुनबाट कसरी रोकिन्छ एउटा नागरिक ?
विकसित मुलुकमा पुग्छ, त्यहाँको विकास संरचना देख्छ, राजनीतिक संस्कार र प्रणाली देख्छ, बाटोघाटो पुल पुलेसा टेक्छ। सडक पेटीहरू देख्छ, चरम विकसित विकासको मोडल देख्छ, बेलुकी घर फर्कँदा बिग्रिएको र भत्किएको सडक बिहान त्यही बाटो अफिस जान्दा चमत्कारिक पिच भएको चिल्लो सडक देख्छ । विकास निर्माणको लागि वर्षौँ लाग्छ भन्ने पुरानो मानसिकता त्यहीँ दृश्य हेरेर अब विश्वास गर्दैन । सरकारी कामकाज ढिलो हुँदै रहेछ भन्ने कुरा पनि फेरि विश्वास गर्दैन ।
गाडीको ट्रायल पास गरेको एक घण्टा भित्र हातमा पाइन्छ लाइसेन्स, सरकारी काममा पुग्दा आफू गएर आफ्नो सबै कुरा बताउनुपर्छ, आफू बसेकै ठाउँमा आएर सबैथोक गरिदिन्छ त्यहाँका कर्मचारीहरूले। आफैँ आत्तिएर कुद्नै पर्दैन। हामीकहाँ सरकारी काम छ भने रातभर निद्रा लाग्दैन, दौडँदै दौडँदैको सास्ती हुन्छ, पसिना छुट्छ शरीरमा । एउटा नागरिकले देश छोडेर गए पनि हाम्रो देशमा किन यस्तै हुँदैन ? आफ्नै देशसँग तुलना नगरी बस्न सक्दैन, मन भत्भति पोल्छ, रगत उम्लिन्छ, अनि कलम लिएर लेख्न थाल्छ, विश्लेषण लेख्न थाल्छ । डायरीमा देशको राजनीतिक विकृति र विसंगतिको बारेमा लेख्न थाल्छ, कहिले मिठाई जस्ता गुलिया शब्दहरूले वर्णन गर्छ अनि कतै बारुद जस्ता विस्फोटक शब्दहरू पनि ओकल्छ ।
एउटा लेखक सधैँ परिवर्तन चाहन्छ, देश स्वर्ग बनोस्, यस्तै चाहना राख्छ, विकास लेख्न पाइयोस्, विकृति होइन, विशेष लेख्न पाइयोस्, भेदभाव होइन । विकृतिमाथि सजगता जगाउनको लागि लेख्ने प्रयासलाई सरकारले रोक लगाउनु हुँदैन । नियमन सही अर्थमा गर्नैपर्छ, तर नागरिकहरूको बोल्न र लेख्न पाउने स्वतन्त्रता खुम्चिन दिनु हुँदैन । राज्यको कमजोरीको बारेमा कलम चलाउनु, सिस्टमको स्वेच्छाचारिताको बारेमा औँला उठाउनु, कर्मचारीतन्त्रको गलत हर्कतको खबरदारी गर्नु नागरिक स्वतन्त्रता हो, बौद्धिक र सचेत नागरिकहरूको कर्तव्य पनि हो । विचार राख्न स्वतन्त्र हुनुपर्छ एउटा नागरिक ।
जय होस् !
स्वतन्त्र नागरिकको आलोचनात्मक चेतलाई राज्यले सम्मान गर्नुपर्छ ।