काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दल मिलेर अर्थतन्त्रलगायत क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् ।
राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रदेखि सबै क्षेत्रमा प्रतिकूल असर परेको भन्दै उनले अहिले ठूला दल मिलेर अर्थतन्त्रलगायत क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताए । अहिले अर्थतन्त्रलाई लयमा फर्काउने कोसिस भइरहेको जानकारी दिँदै उनले देशलाई २०२६ मा अर्थतन्त्रको मध्यम स्तरमा पुर्याउनका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए ।
प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माण गरेर मुलुकको विकास गरिने बताए । सूचना प्रविधि क्षेत्रलाई उद्योगका रूपमा विकास गरी निर्यात व्यापारका रूपमा अघि बढाउने गरी काम भइरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री विदेशबाट सामान ल्याएर विदेशमा नै निर्यात गर्ने कामले नक्कली आँकडा स्थापित हुन खोजेको भन्दै स्वदेशमा नै उत्पादित सामग्रीलाई निर्यात गर्न सक्नुपर्नेमा जोड दिए । विश्वमा प्रतिस्पर्धी ढंगले सूचना प्रविधिको विकास भइरहेको सन्दर्भमा नेपालमा त्यसको उचित तवरले प्रयोग गरेर फाइदा लिन सक्नुपर्ने धारणा उनले राखे ।