टोकियो – जापानका एक चिरपरिचित एवं प्रतिष्ठित नेपाली व्यवसायी तथा एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपालको दुर्घटनामा परि निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार उहाँको गत जनवरी २८ तारिख मंगलवार बिहान निधन भएको हो । यस अघि टोकियो महानगरीय प्रहरी विभागलाई उद्धृत गर्दे याहु न्यूजले जेआर केइहिन-तोहोकु लाइनको तामाची स्टेशनमा रेलले ठक्कर दिँदा एक जना नेपालीको मृत्यु भएको जनाएको थियो । जसले गर्दा जेआर केइहिन-तोहोकु र यामानोते लाइनका रेलवे सेवा केही समय अवरुद्ध भएका थिए ।
टोकियो महानगरीय प्रहरी विभाग र जेआर हिगासी निहोनले जनाएअनुसार २८ तारिख बिहान करिव १०:४० बजे टोकियोको मिनातो वार्डको जेआर तामाची स्टेशनमा ओमियाबाट कामाता जाँदै गरेको केइहिन-तोहोकु लाइनको द्रुत गतिको रेलले ठक्कर दिँदा नेपालको मृत्यु भएको याहु न्यूजले जनाएको थियो । यस दुर्घटनाका कारण केइहिन-तोहोकु लाइन, यामानोते लाइन लगायत ११ वटा रेल वे कम्पनीका ४६ वटा रेलसेवा करीव सवा घण्टा जति कुनै आंशिक र कुनै पूरै अवरुद्ध हुँदा करिव ४३ हजार यात्रुहरू प्रभावित भएको याहु न्यूज डट कमले जनाएको छ ।
झापा घर भई विगत ३ दशकभन्दा लामो समय सपरिवार जापानमा रहेका नेपाल रेष्टुरेन्ट, रेमिटयान्स, मानव संशाधन, स्कुल लगायत विभिन्न व्यवसायमा संलग्न थिए । स्व. नेपालका श्रीमती, दुई छोरी र १ छोरा छन् ।
इञ्जिनियर मेघराज नेपालको अप्रत्याशित निधन भएको खबरले स्तब्ध भएका छौं । उहाँको निधनबाट नेपाली समाज र सिंगो राष्ट्रलाई अपुरणीय क्षति भएको छ । उहाँको असामयिक निधनमा गहिरो दुखद ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दछौं । साथै यस दुखद घडिमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति मिलोस् भन्ने कामना गर्दै हार्दिक समवेदना ब्यक्त गर्दछौं । – समुद्रपारि डट कम परिवार ***