काठमाडौं – अमेरिकाले १४ लाख भन्दा बढी आप्रवासीलाई उनीहरूकै देश फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईईसी) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने जनाएको हो ।
आईईसीको सूचीअनुसार अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरसका नागरिक छन् । होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासनमा पर्नेछन् । ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना निष्कासित हुनेछन् । सूचीमा चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले गैरकानुनी आप्रवासीलाई घर फर्काउन थालेको हो । ट्रम्पले शपथ ग्रहण गरेलगत्तै अवैध आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । उनको घोषणासँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरिएको छ । रक्षा मन्त्रालयले थप १० हजार सैनिक खटाउने तयारी गरिरहेको छ ।
आईईसी अमेरिकामा हाल १ करोड ११ लाख गैरकानुनी आप्रवासी छन् । प्यु रिसर्चका अनुसार तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् । दोस्रो स्थानमा रहेको एल साल्भाडोरका ७ लाख ५० हजार छन् । तेस्रो स्थानमा रहेको भारतका ७ लाख २५ हजार गैरकानुनी आप्रवासी छन् ।
तीमध्ये सबैभन्दा बढी पञ्जाब र गुजरात प्रान्तका भएको बताइएको छ । त्यस्तै, ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् । गैरकानुनी आप्रवासीमध्ये सबैभन्दा बढी क्यालिफोर्निया राज्यमा १८ लाख छन् ।