काठमाडौं – भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा भागदौड मच्चिएको छ । स्थानीय समय अनुसार मंगलबार राति करिब १ः३० बजे भागदौड मच्चिएको हो । त्यस क्रममा धेरै मानिसहरू हताहत भएको ठानिएको छ ।
प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा समाचारसंस्था एएफपीलाई उक्त घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन् । यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन । बुधवार मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो । प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन् । घाइतेहरूको उपचार भइरहेको उनले बताइन् ।
भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ । त्यसमा घाइतेहरूलाई सेक्टर २४ स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ । उक्त घटनापछि सबै अखाडाहरूले मौनी अमावस्याको स्नान कार्यक्रम रद्द गरेको सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताएका छन् । उनले बिहानका राति भएको घटनालाई दृष्टिगत गरी कार्यक्रम नगर्ने निर्णय गरिएको बताएका हुन् । बीबीसी