समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी सोनाम ल्होसार पर्वको शुभारम्भ गरेका छन्। सो अवसरमा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोचारण गरेका थिए। साथै, तामाङ समुदायका सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोले समारोहलाई थप रंगीन बनायो।
समारोहमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले नेपाल विविध सांस्कृतिक धरोहरको धनी मुलुक भएको र यहाँका सबै जातजातिका भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरूले मुलुकलाई समृद्ध बनाएको बताए।
राष्ट्रपति पौडेलका अनुसार तामाङ जातिको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनमा ल्होसार पर्वको महत्त्वपूर्ण स्थान छ। उनले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिको अभिन्न हिस्सा भएको उल्लेख गर्दै यसले तामाङ समुदायको सभ्यता, सांस्कृतिक पहिचान र परम्परालाई प्रतिबिम्बित गर्ने बताए।
राष्ट्रपति पौडेलले हिमाली, पहाडी र आदिवासी जनजातिका लागि सोनाम ल्होसार राष्ट्रिय पर्वको रूपमा स्थापित भएको भन्दै तामाङ जातिसहित सबै नेपालीलाई सुस्वास्थ्य, समृद्धि र मानव जातिको कल्याणका लागि शुभकामना व्यक्त गरे।