काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आइतबार ठूलो स्तरको आप्रवासन विरोधी अभियान सञ्चालन गर्दै एक हजारभन्दा बढी अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ । सिकागो र मियामीजस्ता ठूला सहरहरूमा व्यापक धरपकड गर्दै यी गिरफ्तारीहरू गरिएको हो ।
राष्ट्रपति ट्रम्पले अमेरिकामा जन्मेका व्यक्तिहरूलाई नागरिकता दिने प्रावधानलाई अन्त्य गर्न प्रयास गरिरहेको बताउँदै यो नियम अहिलेको अवस्थामा आवश्यक नरहेको तर्क गरेका छन् । उनले यो प्रावधान अमेरिकी संविधानको १४ औँ संशोधनमार्फत दास प्रथा अन्त्यपछि दासका सन्तानहरूलाई नागरिकता दिनका लागि ल्याइएको भए पनि अहिले त्यसको औचित्य समाप्त भएको बताएका छन् ।
यस आक्रामक कदमका कारण ट्रम्पको विरोधमा प्रदर्शनहरू सुरु भएका छन् । टेक्ससको फोर्ट वर्थ र यालेसहित विभिन्न स्थानका विद्यालय, चर्च, र अन्य सार्वजनिक स्थलमा आप्रवासीहरूलाई गिरफ्तार गर्न थालिएपछि सर्वसाधारणले ‘बाँच्न पाउने मौलिक अधिकार’को माग गर्दै प्रदर्शनको सुरुवात गरेका हुन् ।
कोलम्बियाले आप्रवासीहरूलाई फिर्ता गर्न दिएको सहमतिलाई ट्रम्पले आफ्नो प्रशासनको ठूलो सफलता भन्दै प्रशंसा गरेका छन् । अर्कोतर्फ, मेक्सिकोका राष्ट्रपति क्लाउडिया सियनबाउमले अमेरिकाले फिर्ता पठाएका चार हजार आप्रवासीलाई आफ्नो देशमा समायोजन गरिएको बताएकी छिन् ।
ट्रम्प प्रशासनले आप्रवासीलाई अस्थायी कागजातका आधारमा समेत बसोबास गर्न नदिने अडान लिएको छ। यो नीतिका कारण विशेषगरी अफगान र युक्रेनी शरणार्थीहरूमा गहिरो प्रभाव पर्ने देखिएको छ ।