टोकियो – जापानलाई कर्मभूमि बनाउँदै आएका युवा साहित्यकार रबिन शर्माको कवितासङ्ग्रह ‘देउता बनाउने कारखाना’ टोकियोमा पनि विमोचन भएको छ । गत आइतबार टोकियोमा आयोजित एक समारोहकाबीच शर्माको कविता विमोचन गरिएको हो । समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी लगायत अन्य विशेष अतिथिहरुले सामुहिकरुपमा पुस्तकको विमोचन गरेका हुन् ।
यसअघि नेपालमा विमोचन भईसकेको उक्त पुस्तकको शर्माले कर्मभूमिमा पनि लोकार्पण गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले आयोजना गरेको सो लोकार्पण समारोहमा बोल्दै राजदूत डा. सुबेदीले शर्माका कविताहरुमा अगाढ देशप्रेम झल्किएको बताए । उनले नेपाली साहित्यको बिराट फाँटमा शर्मा युवापुस्ताका एक प्रतिनिधिपात्र कविको रुपमा उदाएको बताए । साहित्यिक सिर्जनामा शर्मालाई थप सफलताको शुभकामना दिंदै राजदूत डा. सुबेदीले डायस्पोराको नेपाली समुदायहरु मध्य जापानको नेपाली समुदाय साहित्य क्षेत्रमा मात्रै नभएर हरेक क्षेत्रमा अग्रपंत्तिमा रहेको चित्रण गरे ।
अनेसास जापानका अध्यक्ष अरुण पौडेलको सभापतित्वमा भएको सो लोकार्पण समारोहमा हाल जापान भ्रमणमा रहेका नेकपा एमालेका युवा नेता तथा पूर्वसांसद डा. सूर्य पाठक, अनेसासका पूर्व केन्द्रीय अध्यक्षद्वय डा. कुमार बस्नेत र प्रकाश पौडेल ‘माईला’, एनआरएन जापानका उपाध्यक्ष सुभाष लामिछाने, जापान च्याप्टरका पूर्वअध्यक्ष बिष्णुप्रसाद घिमिरे, हाल जापान भ्रमणमा रहेका अन्नपूर्ण टेलिभिजनका पत्रकार राजु सुबेदीको शुभकामना मन्तब्य रहेको थियो भने अर्का पूर्वअध्यक्ष दीप पाठकको कविपरिचय रहेको थियो । यसैगरी मुर्तिकारसमेत रहेका कवि मञ्जुल मितेरीले विमोचित पुस्तकका बारेमा चर्चा गरेका थिए ।
सो समारोहमा कवि शर्माले प्रकाशित कवितासङ्ग्रहमा समाविष्ट मुख्य मुख्य कविताहरु वाचन गरेका थिए । कविता वाचनका क्रममा निकै भावुक देखिएका शर्माले जन्मभूमि र जन्मदातालाई सँधै शिरमा राखी साहित्य र सिर्जनामा जीवनभरि लागिरहने प्रण गर्दै समाजको अहित हुने काम कहिलै नगर्ने वाचा गरे । उनका कवितासङ्ग्रहमा ३९ वटा कविता सङ्ग्रहित छन् । कवि शर्मालाई अनेसास जापानले कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
अनेसास जापान च्याप्टरकी सचिव संगिता कुँवरको स्वागत मन्तव्य रहेको सो साहित्यिक समारोहको च्याप्टरकी सदस्य बिनिसा सापकोटाले कुशल ढंगले सञ्चालन गरेकी थिईन् । शर्माका कविता सुन्न विमोचन समारोहमा उत्साहजनक दर्शक-स्रोताहरुको उपस्थिति रहेको थियो । ***