काठमाडौं – अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आज आफ्नो दोस्रो कार्यकालका लागि शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहण समारोह अमेरिकी संसद भवन ‘क्यापिटल’मा आयोजना हुनेछ, जहाँ सबै तयारी पूरा भइसकेको छ ।
शपथ ग्रहणअघि वासिङ्टन पुगेका ट्रम्पले आफ्ना समर्थकहरूको उत्साहपूर्ण स्वागत पाए । समर्थकहरूले ठूलो संख्यामा सहभागी हुँदै विजयी जुलुस निकालेका थिए, जसमा ट्रम्प स्वयं पनि सरिक भएका थिए ।
उनले ऐतिहासिक गति र शक्तिका साथ काम गर्ने बताउँदै देशले सामना गरिरहेको हरेक संकटलाई समाधान बताए । ‘पदको शपथ लिएको केही घण्टाभित्र म बाइडेन प्रशासनका हरेक कट्टरपन्थी र मूर्खतापूर्ण कार्यकारी आदेश खारेज गर्नेछु,’ उनले भने ।
दोस्रो कार्यकाल प्रारम्भसँगै ट्रम्पले आप्रवासन, सीमाको सुरक्षा, आर्थिक सुधार, र जलवायु परिवर्तनसम्बन्धी करिब १ सय कार्यकारी आदेश जारी गर्ने योजना बनाएका छन् । शपथपछि उनले यी मुद्दाहरूमा प्राथमिकता दिने संकेत गरेका छन् ।
समारोहलाई विशेष बनाउन ट्रम्पले विभिन्न विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन् । यस क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि सहभागी हुन निम्तो दिएका थिए । अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले सत्ता हस्तान्तरण शान्तिपूर्ण हुने आश्वासन दिएका छन् । गत कात्तिकमा सम्पन्न चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेजको मतसहित विजय हासिल गरेका थिए ।