समाचार सुन्नुहोस :
काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ स्थित कृष्णभीरमा आइतबार बिहान ग्यास बुलेट त्रिशूली नदीमा खस्दा बेपत्ता चालक र सहचालकको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा परेका चालक, भारतको बरुनी निवासी ४५ वर्षीय पंकज कुमार र अज्ञात परिचयका सहचालक हालसम्म बेपत्ता छन्।
सशस्त्र प्रहरी बलले गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीलाई परिचालन गरेको छ। कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालय र आदमघाट बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको नेतृत्वमा खोजी तथा उद्धार कार्य भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।