समाचार सुन्नुहोस :
काठमाडौँ – आज बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म देशभरका विभिन्न ४१ रिक्त पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। नगरपालिकाका प्रमुख र उपप्रमुखमा एक/एक, गाउँपालिकाका अध्यक्ष दुई र उपाध्यक्ष चार तथा वडाध्यक्षका ३३ पदका लागि यो निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले उपनिर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएकी छिन्। आयोगले मतदाताहरूलाई आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा गई मनपर्ने उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आह्वान गरेको छ। मतदानका लागि मतदाताले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात प्रस्तुत गरेर मतदानमा सहभागी हुन सक्नेछन।
उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित ३७६ जना प्रतिस्पर्धामा छन्। आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो जिम्मेवारीमा सतर्क रहन र मतदातालाई भयमुक्त वातावरण उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, मतदान प्रक्रिया शान्त र सुव्यवस्थित रूपमा सञ्चालन गर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक तथा सरोकारवाला सबैसँग सहयोगको अपिल गरेको छ।