समाचार सुन्नुहोस :
काठमाडौँ – अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानून संसदबाट पारित गरेको छ। फेसबुक, इन्स्टाग्राम, र एक्स जस्ता प्लेटफर्ममा किशोर-किशोरीहरूलाई रोक्नका लागि प्रस्तावित विधेयक बुधबार तल्लो सदन र बिहीबार सिनेटबाट अनुमोदित भएको हो।
कानून कार्यान्वयनका लागि आवश्यक विवरण तयार गर्न र प्रभावकारी बनाउन झण्डै एक वर्ष लाग्ने अनुमान छ। अब सामाजिक सञ्जाल कम्पनीहरूले १६ वर्ष मुनिका व्यक्तिहरूलाई खाता खोल्न रोक्न ‘उचित कदम’ चाल्नुपर्नेछ। उल्लंघन गरेमा कम्पनीहरूलाई ५ करोड अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्नेछ।
यो कानुनलाई संसारकै कडा कानुनहरूमध्ये एक मानिएको छ। तर, सामाजिक सञ्जाल कम्पनीहरूले यसलाई ‘अस्पष्ट’ र ‘हतारमा पारित’ भएको भन्दै असन्तोष व्यक्त गरेका छन्।
विशेषज्ञहरूले भने डिजिटल साक्षरता कार्यक्रममार्फत बालबालिकालाई अनलाइन सामाग्रीबारे आलोचनात्मक सोच्न सिकाउन सुझाव दिएका छन्। चीनले सन् २०२१ देखि किशोरहरूको सामाजिक सञ्जाल र गेमिङ समय सीमित गरेको छ। त्यहाँ १४ वर्षमुनिका बालबालिकालाई टिकटकको चिनियाँ संस्करण डाउइनमा दैनिक ४० मिनेट मात्र समय दिन अनुमति छ।