समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असंवैधानिक र अप्राकृतिक रूपमा गठन गरिएको आरोप लगाएका छन्। कीर्तिपुरमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यो धारणा व्यक्त गरेका हुन्।
उनले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको दाबी गरे। प्रचण्डले वर्तमान सरकारप्रति आलोचनात्मक टिप्पणी गर्दै यसले संविधान र जनमतको भावना विपरीत काम गरिरहेको पनि उल्लेख गरे।
‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो। त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ। यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन,’ प्रचण्डले भने, ‘बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ।
उनले संविधानको धारा ७६(२) अन्तर्गत विश्वासको मत प्राप्त गरेको सरकारले स्वाभाविक रूपमा उपधारा (३) मा जानुपर्ने बताउँदै, हालको सरकार संविधानविपरीत रहेको आरोप पनि लगाए। ‘यो सरकार संविधान मिचेर बनेको सरकार हो । ७६ को २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि स्वतः ३ मा जानुपर्ने ठाउँमा फेरि २ मै फर्किएर बनाउनु संविधान विरोधी छ । यो अप्राकृतिक छ,’ प्रचण्डले भने।