Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०९, २०८१
Friday, October 25, 2024

काठमाडौं – परिवार र साथीभाइबाट अलग भएका हजारौँ दक्षिण कोरियालीहरूले प्रत्येक वर्ष गुपचुप ज्यान गुमाउँछन् । यसरी ज्यान गुमाउनेको शव कहिलेकाहीँ त हप्तौपछि फेला पर्छ ।

यस्तो मृत्युलाई कोरियाली भाषामा ‘गोडोक्सा’ भनिन्छ । जसको अर्थ हुन्छ ‘एक्लो मृत्यु’ । दक्षिण कोरिया एक्लोपनले सिर्जित यो गम्भीर समस्यासँग जुधिरहेको छ । दक्षिण कोरियाली सरकार ‘एक्लो मृत्यु’को समस्या रोक्ने दबाबमा छ ।

एक्लोपनको यो समस्या रोक्न भनेर दक्षिण कोरियाली सरकारले त्यहाँको राजधानी सिओलमा मात्र ३२७ मिलियन अमेरिकी डलर खर्च गर्ने बताएको छ । पाँच वर्षभित्र राजधानी सिओललाई कोही पनि एक्लो नहुने सहर बनाउन यो रकम छुट्याइएको हो ।

एक्लोपनको समस्यासँग जुध्न दक्षिण कोरियाले चौबिसै घण्टा उपलब्ध हुनेगरी एक्लोपन परामर्शदाताको सुविधा उपलब्ध गराएको छ । यो सुविधा अनलाइनबाट उपलब्ध हुनेछ, यसका साथै परामर्शदाताले एक्लोपनबाट ग्रसित मान्छेसँग भेटघाट पनि गर्ने व्यवस्था मिलाइएको छ ।

राजधानी सिओलका मेयर ओ से–हुनका अनुसार एक्लोपन व्यक्तिगत समस्या मात्र होइन । उनी भन्छन्, “यो त समाजले मिलेर समाधान गर्नुपर्ने काम हो ।”

एक्लोपनको यो समस्या दक्षिण कोरियामा एक दशकयता देखा परेको हो । समाचार संस्था सीएनएनका अनुसार सन् २०२२ मा मात्र दक्षिण कोरियामा एक्लोपनबाट मृत्यु हुनेको संख्या तीन हजार ५५९ थियो । २०२३ मा यो संख्या तीन हजार ६६१ पुग्यो ।

सामाजिक रूपमा एक्लिएर बस्ने, परिवार, आफन्त वा साथीभाइसँग सम्पर्क नभएका आत्महत्या वा रोगका कारण मरेका व्यक्तिको मृत्युलाई एक्लो मृत्यु भन्ने गरिन्छ । दक्षिण कोरिया सरकारले नै सामाजिक आइसोलेसनमा बस्ने परिवार, साथीभाइसँग नबस्ने व्यक्तिको मृत्युलाई ‘एक्लो मृत्यु’को रूपमा परिभाषित गरेको छ । सन् २०२३ मा एक्लो मृत्युमध्ये ८४ प्रतिशत पुरुष थिए ।

एक्लोपन दक्षिण कोरियाका लागि नौलो होइन । दक्षिण कोरियालीहरूले  आफूलाई सान्दर्भिक वा महत्त्वपूर्ण नठान्नुलाई एक्लोपन भन्छन् । आफ्नो कुनै उदेश्य, औचित्य नहुनुलाई दक्षिण कोरियालीहरू एक्लोपन भन्छन् ।

दक्षिण कोरियाको ‘जेन जी’ आलोचना, आत्म आलोचना र असफलतासँग डराउँछ । यही वर्षको जुनमा प्रकाशित एक अध्ययनअनुसार एकल घरधुरीको संख्या बढ्नु, काम र परिवारभन्दा बाहिरको सामाजिक अन्तर्क्रिया घट्नु, समाजिक सञ्जालको दबदबालाई एक्लोपनको कारणका रूपमा अथ्र्याएको थियो । अर्कोतिर दक्षिण कोरियाको उपलब्धिकेन्द्रित प्रतिस्पर्धात्मक समाजले पनि मान्छेलाई एक्लोपनतर्फ डोर्‍याउने गरेको छ ।

एक्लोपनबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि दक्षिण कोरियाले एक्लो मृत्यु निवारण तथा व्यवस्थापन ऐन पनि ल्याएको छ । सन् २०२३ मा सरकारले युवाहरूलाई समाजमा पुनः प्रवेश गराउन मदत गर्न भनेर मासिक ४७५ अमेरिकी डलर दिने योजना पनि ल्याएको छ ।

एक्लोपनसँग संघर्ष गरिरहेको दक्षिण कोरिया एक्लै होइन, जापान पनि यस्तै समस्यासँग जुधिरहेको छ । जापानले त यो समस्याको समाधान गर्न भनेर एक मन्त्री नै नियुक्त गरेको छ । यसबाहेक बेलायतले पनि यस्तै मन्त्री नियुक्त गरेको छ । संयुक्त राज्य अमेरिकामा पनि विज्ञहरूले एक्लोपन र आइसोलेसनलाई महामारी भनेर चेतावनी दिइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि एक्लोपनलाई स्वास्थ्य चेतावनीका रूपमा लिएर एक आयोग बनाएको छ ।

तपाईको प्रतिक्रिया