टोकियो – ५ फीट ४ इञ्च उचाइ भएकी सारा मिजोगुची किशोरी हुँदा उनको वजन निकै कम थियो । ‘म जुन बेला पनि खानेकुराबारे सोचिरहेकी हुन्थेँ र सधैँ भोकै हुन्थेँ,’ उनी सुनाउँछिन्, ‘मैले वर्षमा एक दिन आफ्नो जन्मदिनमा बाहेक केक खाँदैन्थेँ । त्यो क्रम तीन चार वर्ष चल्यो । म पटक्कै खुसी थिइनँ ।’
अहिले २९ वर्ष पुगेकी साराको जस्तै अवस्था जापानमा धेरैको छ । त्यसैले युवतीहरूमा कम वजन एक गम्भीर समस्या बनेको छ । सन् २०१९ मा जापानको स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षणले २०.७ प्रतिशत अर्थात् २० देखि २९ वर्षका पाँच महिलामध्ये एक जनामा बडी मास इन्डेक्स बीएमआई १८.५ भन्दा कम देखिएको थियो । यो चिकित्सकीय हिसाबमै कम वजन हो ।
साराको पनि बीएमआईले निर्धारण गरेको दायराभन्दा वजन कम नै थियो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका मानिसको बीएमआई १८.५ देखि २५ सम्म हुनुपर्ने सुझाएको छ । जापान उच्च आय भएको एकमात्र त्यस्तो देश हो जहाँ ठूलो संख्यामा कम वजन भएका महिलाहरू छन् । सन् २०२४ मा दुब्लो वा मोटोपनको विश्वव्यापी प्रवृत्तिबारे गरिएको एक अध्ययन अनुसार पृथ्वीका गरिब ठाउँहरू जस्तै टिमोर–लेस्टे, बुरुन्डी, इरिट्रिया र निजेरमा मात्रै जापानको जस्तो कम वजन भएको दर भेटिन्छ । उक्त अध्ययन लान्सेट मेडिकल जर्नलमा प्रकाशित गरिएको थियो ।
सन् १९९० पनि जापानमा कम वजन भएका महिला थिए तर तिनको वजन अहिलेको जस्तो कम थिएन । अनि अन्तर्राष्ट्रिय तालिकामा जापान अहिलेको जस्तो कम वजनको अवस्थामा थिएन । अहिले त्यस्तो अवस्था छ । कैयौँ अध्ययनहरू र राष्ट्रिय सर्वेक्षणहरूले भर्खरैका युवतीहरूमा दुब्लो हुने प्रवृत्ति बढ्दो रहेको खुलासा गरेका छन् । केही वर्षअघि ‘सिन्डरेला वेट’ भन्ने शब्दावली जापानमा युवतीहरूमाझ फैलिएको थियो ।
जापानमा सिन्डेरेला वेट भन्ने शब्दावलीले १८.५ भन्दा कम बीएमआईलाई जनाउँछ जुन भनेको आधिकारिक दायराभन्दा कम वजन हो । तर धेरै महिला यस्तै कम वजन होस् भन्ने चाहन्थे । यद्यपि, सिन्डेरेला वेट (किलोग्राममा) -जुन एक व्यक्तिको उचाइ मिटरमा निकाल्ने त्यसलाई वर्गमा परिवर्तित गर्ने र त्यसरी आएको अङ्कलाई १८ ले गुणा गर्ने- ले अनलाइनमा बहस नै चर्कायो । केही मानिसले त्यस्तो वजनलाई यथार्थपरक नभएको र अस्वस्थकर लक्ष्य भन्दै त्यसविरुद्ध बोले ।
सांस्कृतिक मान्यता
जापानको हामामात्सु सहरमा रहेको शेइरेइ क्रिस्टोफर विश्वविद्यालयस्थित स्कूल अफ नर्सिङका प्राध्यापक टोमोहिरो एसुडाले कम वजन भएका जापानी नवयौवनाबारे अध्ययन गरेका छन् । उनको अध्ययनले युवतीहरूले आफूले वजन बढाउनुपर्ने आवश्यकता ठानेको स्वीकार गरे पनि त्यो बढाउन चाहेकै वजन पनि बीएमआईभन्दा निकै कम हो ।
उनको अध्ययनमा सहभागीहरूले आफ्नो वजन बढाउनुपर्ने स्वीकार गरे पनि उनीहरूले बढाउन चाहेको तौल नै स्वस्थ्यकर बीएमआईका लागि आवश्यक पर्नेभन्दा निकै कम थियो । उनको अध्ययनमा भाग लिएका कम वजनका महिलाले २२ बीएमआई पुर्याउनका लागि १०.३ केजी वजन औसतमा बढाउनुपर्छ । तर उनीहरूलाई सोध्दा भने उनीहरूले केवल ०.४ केजी वजन बढाउन चाहेको बताए । ‘जापानमा, युवतीहरू एकदमै दुब्ली हुने, प्रजननमा जोखिम हुने, कम वजनका बच्चा जन्मिने सार्कोपेनिया भनिने वृद्धावस्था वा हलचल नगरिकन बसेका कारण मांशपेशी कमजोर हुने जस्ता समस्या देखिएको छ,’ उनले भने ।
कुपोषणले गर्दा हड्डी खिइने, रक्त अल्पता हुने र महिनावारी असन्तुलित हुने जस्ता समस्या हुन्छ । प्रोटिन पर्याप्त नहुँदा त्यसले मांसपेशीमा पनि समस्या हुन्छ । प्राध्यापक एसुडाको मोटोपना र दुब्लोपनासम्बन्धी कक्षामा केही विद्यार्थीहरूले आफ्नो मन पर्ने सेलिब्रेटी वा प्रभावशाली व्यक्तिहरूको जस्तै दुब्लो आफू पनि बन्न चाहेको बताएका थिए । उनले भने, ‘लामो समयसम्म अमेरिका र युरोपको फ्याशन र अन्य पक्षको जापानमा प्रशंसा गरियो र त्यसबाहेक जापानी सञ्चारमाध्यमले पनि यस्तो सोच बन्नुमा ठूलो भूमिका खेलेको छ ।’
प्राध्यापक एसुडाले जापानी सञ्चारमाध्यममा पुरुषहरू फरक उमेर र फरक आवरणमा देखा परे पनि महिलालाई भने सधैँ युवा नै देखाइने गरेको व्याख्या गरे । ‘धेरै युवतीहरूलाई दुब्लो नै देखाइने भएकाले मलाई लाग्छ दुब्लो हुनु राम्रो हो भन्ने प्रभाव परेको छ,’ उनले थपे ।
सारा कसरी फूड ‘इन्फ्लुएन्सर’ बनिन्
अहिले फूड इन्फ्लुएन्सर भएकी सारा मिजुगोची जापानको राजधानी टोकियोमा बस्छिन् । उनी सानी छँदा उनका अभिभावकले नै उनलाई दुब्लो हुन प्रोत्साहन गर्थे । ‘मेरो आमा म मोटी बनुँ भन्ने चाहनुहुन्नथ्यो,’ उनले भनिन्, ‘खाना खाने बेला मलाई आमाबुवाले भातमा कार्बोहाइड्रेट धेरै र कम पोषण हुने भन्दै भातको सट्टा मासु र तरकारी खान भन्थे ।’
त्यो बानी उनमा धेरै वर्षसम्म रह्यो । उनले विद्यालय जाँदा लैजाने सानो टिफिन बक्समा सधैँ तरकारी र मासु मात्रै हुन्थ्यो –मलाई भात खानै मन लाग्दैनथ्यो ।’ १२ देखि १५ वर्षको हुँदासम्म सारालाई मोडल बन्न मन लाग्थ्यो । त्यसैले खाना खाँदा कति क्यालोरी हुन्छ भन्नेबारे उनी चिन्तित हुन्थिन् । ‘विद्यालयमा यसबारे मेरो प्रतिस्पर्धा अर्की साथीसँग हुन्थ्यो । एक दिन उनको खाजामा सलाद, हरियो भटमास र थोरै सुँगुरको मासु थियो । म सम्झिन्छु मैले उनलाई तिम्रो खानेकुरामा क्यालोरी धेरै छ भनेकी थिएँ ।’
माध्यमिक तहमा जीवविज्ञान पढ्न जाँदा साराले पर्याप्त खानेकुरा खान किन आवश्यक छ भन्ने महसुस गर्न थालिन् । ‘मैले मानव शरीरबारे सिकेँ र त्यो मेरा लागि हल्का झट्का लगाउने क्षण थियो । हो, हामी सबैलाई पोषण आवश्यक पर्छ,’ उनी भन्छिन् ।
सन् २०११ मा, देशको उत्तर(पूर्वमा गएको भूकम्प र सुनामीको झट्काले जापानमा आणविक विपद् निम्त्यायो । ‘टीभीमा एक विज्ञले तपाईँ स्वस्थ हुनुहुन्छ भने आणविक विकिरणबाट तपाईँलाई असर गर्ने सम्भावना कम हुन्छ भनेर व्याख्या गरे । जीवविज्ञानको पाठ र ती विश्लेषकको टिप्पणीपछि मैले धेरै खान र वजन बढाउन थालेँ । मेरो वजन बढेर ४५ किलो पुगेको थियो ।’
त्यसपछि उनी यूके गइन् र थाहा पाइन् कि त्यहाँ मानिसहरूले क्यालोरी धेरै भएको खानेकुराबारे त्यति ध्यान दिँदैनन् । उनको थप तीन किलो वजन बढ्यो । ‘विश्वविद्यालयमा हुँदा मेरो जीवनमा खुसीयाली थियो । म बिदामा जापान फर्किएँ । मेरो आमासहित वरपरका मानिसले मलाई मोटो देखिइस् भने । त्यसैले फेरि केही वजन घटाएँ । तर त्यो लामो समय रहेन ।’
चार वर्षअघि २५ वर्षको हुँदा साराले पुनः भात खान थालिन् । ‘म धेरै खुसी र स्वस्थ छु, मैले ७ किलो वजन बढाएँ र अहिले म स्वस्थ मानिसमा हुनुपर्ने वजनको दायराभित्र छु । व्यायाम गर्ने भएकाले मेरो मांसपेशी पनि बलियो छ ।
पुरुष प्रभुत्व
अमेरिकाको क्यान्ससमा जापानको आधुनिक समय पूर्वको इतिहास र खाना संस्कृतिबारे अध्यापन गर्ने एरिक र्याथले जापानी संस्कृतिमा दुब्लोलाई लामो समयदेखि सौन्दर्यका रूपमा लिइँदै आएको बताए । ‘यदि तपाईँले किमोनो (जापानको राष्ट्रिय पोसाक)बारे सोच्नुभयो भने यसले पातलो शरीर देखाउँछ र महिलाहरू दुब्लो देखिन त्यसलाई कस्सिने गरी गरेर लगाउँछन्,’ उनले भने ।
उनले जापानमा पुरुषको रोजाइको प्रभुत्व रहेको उल्लेख गरे । अहिले जापानी महिलाहरूले विभिन्न किसिमका पूर्वाग्रहको सामना गरिरहेको उनले बताए । ‘उनीहरूले विवाह गर्नुपर्छ, बच्चा जन्माउनुपर्छ,” उनले भने। “यदि उनीहरूले काम गरे भने कार्यस्थलमा विभेदको सामना गर्नुपर्छ। उनीहरूले यस्ता कुनै पनि कुरा काबुमा राख्न सक्दैनन् । तर वजन कम गर्ने कुरा भने उनीहरूले आफ्नो काबुमा राख्न सक्छन् । त्यसैले कतिपय युवती अति कम वजनसम्म पनि पुग्छन् ।’
कम वजन सँस्कृतिलाई चुनौती दिँदै
जापानका विभिन्न सरकारले महिलाको कम वजनसम्बन्धी समस्यासँग जुझ्न विभिन्न उपाय अपनाउँदै आएका छन् । त्यस्ता उपायमा विद्यार्थीहरूलाई पोषणसम्बन्धी निर्देशिका पनि जारी गरिएको छ । सन् २००० को मार्च महिनामा सरकारले जापानी नागरिकका लागि ‘डाइटरी गाइडलाइन्स’ जारी गरेको थियो ।
उक्त निर्देशिकामध्ये एउटा बुँदाले जनसङ्ख्याले उचित वजन हुनुपर्ने र सन्तुलित आहार र आवश्यक अभ्यास गर्नुपर्ने र वजन धेरै घटाउने प्रयास गर्न नहुने उल्लेख गरेको थियो । सन् २०२२ मा सरकारले समाजका विभिन्न क्षेत्रमा अभियान सुरुवात गर्यो । उक्त अभियानले पोषणसम्बन्धी र युवतीहरूमा कम वजनसम्बन्धी समस्याहरू रहेको स्वीकार गरेको छ ।
टोकियोबाहिर रहेको यामाटो शहरका स्थानीय स्थानीय निकायहरूले कम वजन हुनु आकर्षक हो भन्ने धारणालाई कमजोर पार्न कोसिस गर्दै माध्यमिक विद्यालयदेखि विश्वविद्यालयसम्म पोषणबारे शिक्षा दिने प्रयत्न गरेका थिए । त्यसका लागि उनीहरूले मासिक रूपमा महिलाको स्वास्थ्य परीक्षण र पोषणसम्बन्धी छुट्टाछुट्टै परामर्श दिएका थिए ।
यद्यपि, जापानमा रहेको प्लस-साइज मोडलिङ कम्पनीको प्रतिनिधित्व गर्ने यासुको (थर लेखिएको छैन) जापानमा प्लस-साइज महिलाबारे अझै पनि पूर्वाग्रही धारणा रहेको ठान्छिन् । प्लस साइजका महिलाहरूलाई दुब्लो शरीर भएका महिलाभन्दा कम भाउ भएका रूपमा लिइने उनले बताइन् ।
उनले प्लस-साइजका धेरै महिलाहरूलाई उनीहरूका आफ्नै आमाबुवाले निन्दा गरिदिने, साथीहरूले जिस्काउने, समाजमा “अदृश्य” महसुस गर्नुपर्ने बताइन् । उनीहरूले आफ्नो नाप अनुसारको लुगा पनि नपाउने उनले बताइन् । पश्चिमा देशमा भन्दा एसियामा लुगाको नाप सामान्यतया सानो हुन्छ ।
तर जापानमा भने विश्वका अन्य देशमा भन्दा उल्लेख्य रूपमा अझै सानो पाइन्छ । केही सपिङ वेबसाइटहरूले त पश्चिमाहरूलाई जापानमा लुगा किन्दा सामान्यभन्दा चार गुणा ठूलो किन्न सुझाउँछन् । यासुकोले सार्वजनिक यातायातमा आफूसँग भएको एउटा खास घटना सम्झिइन् । ‘एक जना वयस्क पुरुषले भीड रेलमा मलाई भनेको कुराले मलाई एकदमै चित्त दुखायो: ‘यस्तो भद्दा र उत्तेजक शरीर भएर तिमी कसरी बाँच्न सक्छौँ? तिमीलाई लज्जा बोध हुँदैन?,’ उनले भनिन् ।
यस्ता टिप्पणीहरूलाई उनी बेवास्ता गर्न खोज्छिन् । बरु जापानमा भावी पुस्ताका प्लस-साइज महिलाका लागि मानिसका पूर्वाग्रहविरुद्ध लड्नमा उनी आफू केन्द्रित हुन चाहन्छिन् । –बीबीसीको सहयोगमा