समाचार सुन्नुहोस :
काठमाडौँ – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन्। निषेधित क्षेत्रमा अनसन बसेपछि सुरक्षाकर्मीले उनलाई बल प्रयोग गरी हटाएका थिए। तर, केही समयपछि उनले देवकोटा चोकमा फेरि अनसन सुरु गरेका छन्। अनसन स्थलबाट कार्कीलाई हटाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका २ सयजति सुरक्षाकर्मी परिचालित भएका थिए। यस क्रममा केही नेता तथा कार्यकर्ताहरू घाइते भएका छन्।
कार्कीले आफ्ना योजनाहरूलाई वर्तमान हिक्मत कुमार कार्की नेतृत्वको सरकारले कटौती गरेको भन्दै मंगलबारदेखि आमरण अनसन थालेका हुन्। उनले १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, जनावरमैत्री जंगल अभियान लगायतका योजनाहरू कटौती भएको आरोप लगाएका छन्।
मोरङ जिल्ला प्रशासन कार्यालयले प्रदेश सभा सचिवालय र मुख्यमन्त्रीको कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। कार्कीले आफ्नो माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन्।