समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार प्रतिनिधिसभामा बोल्दै बास्कोटाले अमेरिकामा व्यक्तिहरू पठाउने विषयमा उपसभामुखमाथि गम्भीर प्रश्न उठेको भन्दै उनीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणित गर्न राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए।
लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नहरूको सामना गर्दै सत्यतथ्य उजागर गर्ने अवसर रहेको बास्कोटाको धारणा थियो। उनले आफ्नै अनुभवलाई उल्लेख गर्दै, प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्न बाटो खोल्नुपर्ने जिम्मेवारी राजनीतिज्ञहरूमा रहनुपर्ने बताए। यस प्रकारको साहस र आँट राजनीतिक नेतृत्वमा आवश्यक रहेको बास्कोटाले जोड दिएका छन् ।