समाचार सुन्नुहोस :
काठमाडौँ – रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। योसँगै रुसी सेनामा भर्ती भई युद्धमा मृत्यु हुने नेपालीको संख्या ४३ पुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो। रुसले मस्कोस्थित नेपाली दूतावासलाई मृत्युको मेडिकल रिपोर्ट पठाएको छ।
रुसले थप ३५ जनाको शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाउन नेपाललाई अनुरोध गरेको छ। यसअघि २२ जनाको डीएनए नमुना पठाइएको भए पनि तिनको पछिल्लो विवरण उपलब्ध गराइएको छैन।
नेपाली दूतावासले भदौ १७ गते कन्सुलर सेवा विभागलाई पत्र पठाउँदै डीएनए परीक्षणको नमुना पठाउन पत्राचार गरेको हो । जसमा ३५ जनाको नाम समावेश गरिएको छ। कन्सुलर विभागले सम्पर्कमा आएका परिवारका सदस्यलाई डीएनए परीक्षणको नमुना लिन काठमाडौं बोलाएको छ ।