समाचार सुन्नुहोस :
काठमाडौँ – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा गएको पहिरोले घर पुरिँदा ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ। पहिरो गएराति खसेको थियो। पहिरोमा परेर चलाउने दम्पती पुरिएका थिए।
पहिरोपीडितहरूको खोजी कार्यमा संलग्न टोलीले चलाउने दम्पतीको शव फेला पारेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिएका छन्। यस्तै, घाइते अवस्थामा रहेकी ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको उनले थपे।
मृतकहरूको शवलाई लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याई कानुनी प्रक्रिया पूरा गर्न लागिएको प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताएका छन्।