टोकियो – युकी वातानाबे अफिसमा दिनको १२ घण्टा खट्ने गर्थिन् । त्यसलाई पनि ‘छोटो दिन’ मान्ने गरिन्थ्यो । बिहान ९ देखि राति ९ बजेसम्मको काम त न्यूनतम हो ।
जापानको सबैभन्दा ठूलो टेलिकम र विद्युतीय भुक्तानी कम्पनीमा काम गरेकी २४ वर्षीया वातानाबे कहिलेकाँ ही त अफिसबाट राति ११ बजे हो निस्कन्छिन् । खटाइ यति चर्को हुन्थ्यो कि उनलाई स्वास्थ्य समस्या देखिन थाल्यो । खुट्टा काँप्न र पेटमा गडबडी हुन थाल्यो ।
काम छाड्नुपर्ने अवस्था थियो तर, त्यसमा एउटा बाधा थियो- जापानको कुख्यात श्रम संस्कृति । यहाँ समयमै अफिसबाट निस्किन्छु वा केही समय बिदा बस्छु भन्नु निकै मुस्किल काम हो । त्यो भन्दा पनि अप्ठेरो त राजीनामा दिनु हो । राजीनामालाई विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा सबैभन्दा ठूलो अपमान मान्ने गरिन्छ । जहाँ प्रायः कामदार जीवनभरका लागि र त्यसो नभए पनि दशकौँसम्म एउटै रोजगारदाताकहाँ काम गरिरहन्छन् ।
उस्तै परे क्रुद्ध हाकिमहरूले कर्मचारीको राजीनामा पत्र च्यातेर फालिदिन्छन् र उनीहरूलाई बस्न बाध्य बनाउनेगरी सताउँछन् । वातानाबे त्यतिबेलाको काममा खुसी थिइनन् । सुपरभाइजरले आफ्नो गुनासो बेवास्ता गरेकाले नराम्रो लागेको उनको भनाइ छ। तैपनि उनले राजीनामा दिने हिम्मत गर्न सकिनन् । ‘ती पूर्वरोजगारदाताले मेरो राजीनामा अस्वीकार गरेर मलाई अझ लामो समय काममा जोताऊन् भन्ने म चाहन्नथेँ,’ उनी भन्छिन् ।
तर, यो गतिरोध अन्त्य गर्ने तरिका उनले फेला पारिन् । उनले मोमुरी नामक एजेन्सीको सहायता लिइन्, जसले डरलाग्दा बोसहरूबाट उम्किन डरपोक कर्मचारीहरूलाई सघाउँछ । थुप्रै जापानी कर्मचारीहरू यस्ता कम्पनीको सहायता लिन्छन्, जसको शुल्क एउटा सानदार रात्रिभोजको खर्चजति नै हुन्छ ।कोभिडअघि पनि यो उद्योग अस्तित्वमा थियो । तर, महामारीपछि यसको लोकप्रियता बढेको छ । किनकि वर्षौं घर बसेर काम गरेपछि वफादार जापानी कामदारहरूले पनि आफ्नो करिअर र जीवनबारे सोच्न थालेका मानव स्रोत विज्ञहरूको भनाई छ । राजीनामा गर्न सघाउने कम्पनीहरूको संख्या कति छ, यकिन छैन । तर, मुलुकभर यस्ता कम्पनी खुलेका छन् र माग बढिरहेको उनीहरू बताउँछन् ।
अब सक्दिनँ
मोमुरीका अपरेसन म्यानेजर सिओरी कावामाता गत एक वर्षमा मात्र ११ हजार ग्राहकले कम्पनीमा सोधीखोजी गरेको बताउँछिन् । टोकियोको सबैभन्दा व्यस्तमध्येको बिजनेस डिस्ट्रिक्ट मिनातोमा रहेको यो कम्पनी २०२२ मा खुलेको हो । मोमुरीको अर्थ हुन्छ, ‘अब यहाँभन्दा म गर्न सक्दिनँ ।’
फुलटाइमरका लागि २२ हजार येन र पार्ट टाइमरका लागि १२ हजार येनमा कामदारलाई राजीनामा दिलाउने, कम्पनीसँग कुराकानी गर्ने र कानुनी विवाद भए वकिलको सिफारिस पनि गरिदिने कम्पनीको वाचा हुन्छ । ‘केही मान्छेहरू आफ्नो राजीनामा पत्र रोजगारदाताले तीनपटक च्यातिसकेपछि हामीकहाँ आउँछन् । घुँडा टेक्दा पनि उनीहरूलाई काम छाड्न दिइएको हुँदैन,’ उनी भन्छिन्, ‘कुनैबेला उनीहरू हामीलाई रुँदै फोन गर्छन् । हामी उनीहरूलाई चिन्ता नगर्न र राजीनामा श्रमिकको अधिकार भएको बताउँछौँ ।’
उनका अनुसार कतिपय हाकिमहरूले राजीनामा दिन खोज्ने कामदारलाई सताउने, तिनको अपार्टमेन्टमा गएर ढोकाको घण्टी बजाउने र भित्र पसेपछि निस्किन समेत नमान्ने गर्दछन् । यस्तो समस्या प्रायः सानादेखि मध्यम आकारको कम्पनीहरूमा हुने उनको भनाई छ ।
अत्यधिक कामका कारण मृत्यु
जापानमा लामो समयदेखि अत्यधिक श्रम गर्ने संस्कृति छ । अनेक क्षेत्रका कामदारहरूले लामो कार्यघण्टा, सुपरभाइजरबाट चरम दबाब र कम्पनीप्रति उदासीनता रहेको बताउँछन् । यस्ता रोजगारदातालाई ‘काला कम्पनी’ भन्ने चलन छ । टोकियोस्थित हितोत्सुबासी युनिभर्सिटी बिजनेस स्कुलका प्राध्यापक हिरोसी ओना स्थिति यति खराब रहेको बताउँछन् कि सरकारले त्यस्ता कम्पनीहरूको सूची नै सार्वजनिक गर्न थालेको छ ।
ताकि कामदारले पहिले नै थाहा पाऊन् । ‘काला कम्पनीहरूमा काम गर्ने वातावरण निकै खराब छ । त्यस्तो कम्पनीमा मनोवैज्ञानिक सुरक्षा छैन,’ उनी भन्छन् । २०१७ देखि प्रकाशित त्यस्तो सूचीमा ३७० भन्दा बढी कम्पनी कालो सूचीमा परेका छन् । यसको असर कामदारको जीवनमै पर्ने गरेको छ । जापानी भाषामा करोसी शब्द प्रचलनमा आएको छ, जसको अर्थ हुन्छ, ‘अत्यधिक कामका कारण मृत्यु ।’
श्रम मन्त्रालयका अनुसार अधिक कामका कारण दिमाग र मुटुमा असर पुगी ज्यान गुमाएका ५४ जनाको परिवारलाई २०२२ मा क्षतिपूर्ति दिइएको थियो । दुई दशकअघि यसरी ज्यान गुमाउनेहरूको संख्या १६० थियो । तर, कामका कारण तनाव परेको भन्दै उजुरी गर्ने मानिसको संख्या यही अवधिमा ३४१ बाट बढेर २ हजार ६८३ पुगेको छ ।२०१७ मा राष्ट्रिय प्रसारक एनएचकेमा काम गर्ने एक ३१ वर्षीया राजनीतिक रिपोर्टरको हार्ट फेलियरका कारण मृत्यु भयो । मृत्युको अघिल्लो महिना उनले १५९ घण्टा ओभरटाइम काम गरेकी थिठइन् । कोबेस्थित एक अस्पतालमा काम गर्ने २६ वर्षीय डाक्टरले आत्महत्या गरे । उनले एक महिनामै २०० घण्टाभन्दा बढी ओभरटाइम गरेका थिए ।
मेइजी युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक हिसाकाजु कातो कामदारको अधिकार रक्षा गर्न कानुन भए पनि त्यसले सबै ठाउँमा कामदारको सुरक्षा गर्न नसकेको बताउँछन् ।
बदलिँदै श्रम संस्कृति
उसोभए यी राजीनामा गराउने एजेन्टहरू किन हालैका वर्षमा मात्र देखा परे त ? विज्ञहरूका अनुसार यसको कारण हो, युवाहरूमा बदलिँदो श्रम संस्कृति । ‘जब एउटा पक्ष खुसी हुँदैन तब सम्बन्धविच्छेद हुँदैन । तर, सम्बन्धविच्छेदमा कोही पनि शत प्रतिशत निर्दोष हुँदैन । होइन त ?’ हितोत्सुबासी युनिभर्सिटीका ओनो भन्छन् । बुढो हुँदै गएको जनसंख्या र घट्दो जन्मदरका कारण श्रमिकको चर्को अभाव छ । जसका कारण युवाहरूको भनाइको वजन बढेको छ ।
उनीहरू पुरानो पुस्ताले जस्तो हाकिमले जे भन्यो, त्यही मान्नुपर्छ भन्ने धारणा राख्दैनन् । अपेक्षा अनुसार नभए उनीहरू जागिर छाड्न डराउँदैनन् । तर, त्यसो भन्दैमा हाकिमको कार्यकक्षमा छिरेर उनीहरू राजीनामा दिइहाल्दैनन् । बरु, यो मामला सल्ट्याउने जिम्मा तेस्रो पक्षलाई दिन मन पराउँछन् ।
प्रत्यक्ष गलफत्ती गर्नुभन्दा अरुलाई यसको जिम्मा दिएर ढुक्क हुने प्रवृत्ति युवाहरूमा रहेको ओनो बताउँछिन् । ‘हामीलाई के लाग्छ भने राजीनामा सेवा दिने एजेन्सीहरू अस्तित्वमै हुनुहुँदैन । हामी त्यसैको अपेक्षा राख्छौँ । सबैभन्दा राम्रो त कामदारहरूले हाकिमलाई आफैँले सबैथोक भन्नुमा छ । तर, कामदारहरूले सुनाएका भयानक कथा सुन्दा हाम्रो व्यवसाय छिटै हराउने सम्भावना देखिँदैन,’ उनी भन्छिन् ।
अहिलेलाई भने दोस्रोपटक सेवा लिँदै गरेकाहरूलाई मोमुरीले ५० प्रतिशत छुटको अफर गरेको छ । –सीएनएनबाट