Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – यस आर्थिक वर्षको पहिलो महीनामा पनि विदेशबाट वस्तुको आयात घटेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो महीना साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड रुपैयाँका सामग्री आयात गरेको छ । यो गत वर्षको यही अवधिका तुलनामा ०.६७ प्रतिशत थोरै हो ।

व्यवसायीले आयात कम हुनुले अर्थतन्त्रमा शिथिलता रहेको अर्थमा व्याख्या गर्दै आएका छन् । शेयर बजारमा पछिल्लो महीना देखिएको उत्साहजनक वृद्धिले अर्थतन्त्रमा सुधार आएको संकेत गरेको अर्थमन्त्री विष्णु पौडेलले बताउँदै आएका छन् । शेयर बजारमा उत्साहका बावजूद आयातमा भने सुधार देखिएको छैन ।

आयात वृद्धि नहुनुले बजारमा माग बढ्न नसकेको संकेत गर्छ। बढी उपभोग गर्ने युवा जनशक्ति काम र अध्ययनका लागि विदेशिने क्रम बढेसँगै बजारमा माग शिथिल हुन पुगेको छ । गत साउनमा ५९ हजार ५५० नेपाली कामका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ७.१ प्रतिशत धेरै हो ।

गत वर्षको साउन महीनामा ५५ हजार ५७५ नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए । बितेका तीन आर्थिक वर्षमा मात्रै करीब २५ लाख नेपाली काम र अध्ययनका लागि विदेशिएको तथ्यांक छ । विभागका अनुसार साउनमा नेपालले २१ अर्ब ६५ करोड रुपैयाँको कृषिजन्य सामग्री आयात गरेको छ । अघिल्लो आवको यही अवधिमा २५ अर्ब ४८ करोड रुपैयाँको कृषिजन्य वस्तु आयात भएको थियो ।

साउनमा दुई अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । बितेको वर्ष साउनमा ६ अर्ब ९९ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । विभागका अनुसार गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात पनि सामान्य खस्किएको छ । गत वर्षको साउनमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो भने यो वर्ष २१ अर्ब ६७ करोड रुपैयाँको मात्रै आयात भएको छ ।

मूल्यमा मात्रै होइन, परिमाणमा पनि पेट्रोलियम पदार्थको आयात घटेको छ । गत वर्षको साउनमा ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएकामा यस वर्षको साउनमा ७२ हजार ५२ किलोलिटर मात्रै आयात भएको छ । विभागका अनुसार साउनमा नेपालले १२ अर्ब २२ करोड रुपैयाँको मात्रै सामान निर्यात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.६३ प्रतिशत थोरै हो ।

आयातका तुलनामा निर्यात निकै थोरै भएका कारण साउनमा नेपालको व्यापार घाटा एक खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ ।

तपाईको प्रतिक्रिया