Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढुङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

त्रिधार्मिकस्थल खोटाङको हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ । लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।

प्राकृतिक रुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ-ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ ।

हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्वीर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स-साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ ।

यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्न, पर्यटक विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी राख्नेगरी तयारी गरिएको छ । यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानीको व्यवस्था, विश्रामस्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।

तपाईको प्रतिक्रिया