Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – चाडबाड तथा पर्वहरूको अवसर पारेर कलाकारको विदेशका कार्यक्रमहरूमा जाने लर्को लाग्छ । विदेशमा नेपाली समुदायले गर्ने कार्यक्रमहरूमा उनीहरूको डिमान्ड बेग्लै हुन्छ । फोनको घन्टी बजिरहन्छ । उनीहरूको फोन सामान्यतया झट्ट उठ्दैन ।

कलाकार भएर भाउ खोजेको भन्नेहरू पनि हुन्छन् तर वास्तविकता भने फरक छ । तीजको चटारोमा परेका चर्चित गायक गायिकालाई यतिबेला खाने फुर्सद समेत छैन । यो उनीहरूको गीत गाउने मात्र होइन, पैसा कमाउने पनि बेला हो ।

उसो त नेपालको मात्र कमाइले कलाकारलाई आफ्नो स्डेन्डर्स मेन्टेन्स गर्न धौ-धौ पर्छ । यो सबैलाई थाहै छ । जसका कारण पछिल्लो समय अधिकांश कलाकार विदेशतिरै व्यस्त हुन थालेका छन् । यतिसम्म कि नेपालमा कार्यक्रम गर्नका लागि कलाकारसमेत पाइँदैन ।तीजमा को कहाँ जाँदैछन् ?
अहिलेकी सर्वाधिक चर्चित गायिका शान्तिश्री परियार एक साताअघि नै अमेरिका पुगिसकेकी छिन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा आयोजना भएको कार्यक्रम सुरु भइसकेको छ । अगस्ट १० मा बोस्टन सहरबाट सुरु भएको कार्यक्रममा शान्तिसहित गायिकाद्वय रचना रिमाल र ज्योति मगरले सांगीतिक प्रस्तुति दिएका थिए । साथै मोडल करिष्मा ढकालले पनि दर्शकलाई छमछमी नचाइन् ।

यसपालिको तीजमा यी चारजना कलाकारले तीज पनि विदेशमै मनाउनेछन् । झण्डै दुई महिनाका लागि महिनाको तय भएको यो कार्यक्रम असोज १३ गतेसम्म चल्नेछ । अमेरिकाका कुल २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको छ ।

तीज विशेष कार्यक्रममा अत्याधिक खोजिने गायक हुन् पशुपति शर्मा । शर्मा पनि तीज विशेष सांगीतिक टुरको लागि अस्ट्रेलिया पुगिसकेका छन् । उनको साथमा गायिका देवी घर्ती मगर, शोभा त्रिपाठी र मोडल रूविना अधिकारी पनि गए । यस कार्यक्रममा गायिका कोमल वलीको पनि प्रस्तुति हुनेछ । उनी केही समयदेखि नै अस्ट्रेलियामा छिन् ।

पशुपति शर्माले अस्ट्रेलियाको कार्यक्रममा आफू एक महिना व्यस्त हुने बताए । ‘योपटक तीजमा विदेशतिरै व्यस्त हुनेछु। अस्ट्रेलियामा विभिन्न १५ वटा सहरका लागि तीजविशेष सांगीतिक कार्यक्रम तय भइसकेको छ।’ उनले भने, ‘भदौ १६ गते अस्ट्रेलियाको कार्यक्रम सकेपछि न्युजिल्यान्ड जाने योजना छ ।’तीज विशेष कार्यक्रमकै लागि गायक खुमन अधिकारी पनि शुक्रबार दुबई पुगिसकेका छन् । आइतबार उनी वालिङ समाज स्याङ्जा, युएईको तीज धमाका कार्यक्रममा गुञ्जिनेछन् । ‘दुबईको कार्यक्रमपछि अस्ट्रेलियाको कार्यक्रम तय गरिसकेको अधिकारीले जानकारी दिए । ‘२१ अगस्टसम्म अस्ट्रेलिया पुग्नेछु,’ उनले भने, ‘भदौ २२ गतेसम्म अस्ट्रेलियाका १२ सहरमा हुने तीज कार्यक्रममा नै व्यस्त हुनेछु ।’

यसपालि तीजमा गायक रामजी खाँडले जापानमा प्रस्तुति दिनेछन् । उनीसँगै गायिका समीक्षा अधिकारी पनि जापानमा हुने कार्यक्रममा आउने तयारीमा छिन् । गायिका मेलिना राई यस वर्षको तीजको अवसरमा जापान र भारतका सहरहरूमा जानेछिन् । ३१ अगस्टमा जापानको तीज कन्सर्टमा गुञ्जिएपछि उनले ६ सेप्टेम्बर दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा हुने तीज कार्यक्रममा प्रस्तुति दिनेछन् ।

प्रीति आलेसहित कुलेन्द्र विश्वकर्मा, प्रकाश दुतराज, मोडल तथा डान्सर नारायणी खत्री लगायतका कलाकारहरू युएई गइसकेका छन् । युएईको याक एन्ड यती एभरेस्ट क्लबमा हुने तीज धमाकामा यी कलाकारहरूको प्रस्तुति छ । त्यसपछि गायिका आले अस्ट्रेलियाको कार्यक्रममा जानेछिन् । त्यहाँका विभिन्न सहरमा अगस्ट २३ देखि १ सेप्टेम्बरसम्म हुने तिज धमाका कार्यक्रममा उनी प्रस्तुत हुनेछिन् । तर, तीजको दिन भने साउदी अरब हुने आलेले बताइन् ।

गायिका सुनिता दुलाल पनि तीजविशेष कार्यक्रमको लागि युरोप पुगिसकेकी छिन् । उनी आइतबार पोर्चुगलमा आयोजना हुने तीजविशेष म्युजिकल नाइटमा प्रस्तुति दिनेछिन् । त्यसपछि अस्ट्रेलिया र नेपालका विभिन्न जिल्लामा कार्यक्रम तय भइसकेको उनले फेसबुकमार्फत जानकारी दिएकी छिन् । खेम सेन्चुरी लगायतका थुप्रै गायक–गायिकाले पनि विदेश तथा स्वदेशका तीज विशेष कार्यक्रम तय गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया