Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स (एमपक्स)लाई लिएर विश्वव्यापी स्वास्थ्य संकटको घोषणा गरेको छ । अफ्रिकाका केही भागहरूमा मंकीपक्स प्रकोप फैलिएपछि डब्लूएचओले स्वास्थ्य संकटको घोषणा गरेको हो ।

अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बीबीसीले उल्लेख गरेको छ । वैज्ञानिकहरू यसको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ज्यादै चिन्ताको विषय भएको बताए । ‘यो प्रकोपलाई रोक्न र जीवन रक्षा गर्नका लागि एउटा समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया अत्यावश्यक छ,’ उनले भने ।

कसरी सर्छ ?
एमपक्स यौन संसर्ग, छालासँग सम्पर्कमा आउने वा अर्को व्यक्तिको नजिकै बोल्दा वा सास लिँदा नजिकको सम्पर्क कायम भएको अवस्थामा सर्ने गर्छ । यसले रुघा खोकी जस्तो लक्षण देखाउँछ । छालामा चोट देखा पर्छ र यो ज्यादै घातक हुनसक्छ । १०० वटा एमपक्सका घटनामध्ये ४ मा ज्यान गएको बताइन्छ ।

एमपक्सका दुईवटा मुख्य प्रकारहरू छन् । त्यसमा ‘क्लेड १’ र ‘क्लेड २’ पर्छन् । यसअघि सन् २०२२ मा पनि एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिएको थियो । कम घातक ठानिने ‘क्लेड २’ प्रकारको भेरिअन्टका कारण त्यस्तो गर्नुपरेको थियो ।

तर अहिले त्यो भन्दा धेरै घातक ‘क्लेड १’ भेरिअन्ट देखा परेको छ । त्यसले विगतमा प्रकोप देखिँदा बिरामी पर्नेमध्ये १० प्रतिशतको ज्यान लिइसकेको छ र यो बढ्दो क्रममा छ । अघिल्लो वर्षको सेप्टेम्बर आसपासमा उक्त भाइरसमा केही परिवर्तन देखा परेको थियो । उत्परिवर्तनहरू (म्युटेसन्स)बाट नयाँ खालको प्रजाति ‘क्लेड १ बी’ उत्पन्न भएको थियो जुन त्यसयता तीव्र गतिमा फैलिरहेको छ । एक जना वैज्ञानिकले यसलाई ‘हालसम्मकै सबैभन्दा खतरनाक’ भेरिअन्ट भनेका छन् ।

यो वर्षको सुरुवातदेखि यता प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एमपक्सका १३,७०० घटना भएका छन् जसमा कम्तीमा ४५० को ज्यान गएको छ । त्यसयता यो सङ्क्रमण बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, केन्या र रुवान्डा जस्ता देशमा पनि देखा परिसकेको छ । एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिँदा त्यसले अनुसन्धानतर्फ उन्मुख गराउने, स्रोतहरूको लागि बाटो खोल्ने र अन्य अन्तर्राष्ट्रिय जनस्वास्थ्य सम्बन्धी कदमहरू तीव्र अघि बढाउन थालनी हुनसक्ने अपेक्षा गरिएको छ ।

यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।

यसबाट बच्न के गर्ने ?

  • एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
  • संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने
  • संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने
  • घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने
  • नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
  • संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने
  • मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने
  • संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने
  • संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
  • फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने
तपाईको प्रतिक्रिया