Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

टोकियो – जापानमा सम्भावित ‘महाभुकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्भविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गरेका छन् । जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्यूडको भूकम्पका कारण बिहीबार आठ जना घाइते भएपछि जापानको मौसम विज्ञान निकाय (जेएमए) ले बिहीबार परामर्श जारी गरेको हो ।

किशिदाले शुक्रबारदेखि कजाकिस्तान, उज्बेकिस्तान र मंगोलियाको भ्रमण गर्ने कार्यक्रम थियो । उनले क्षेत्रीय शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको थियो । ‘प्रधानमन्त्रीको हैसियतमा संकट व्यवस्थापनको सर्वोच्च जिम्मेवारी भएकोले मैले कम्तीमा एक हप्ता जापानमा नै रहने निर्णय गरेँ,’ उनले भने ।

किशिदाले सन् २०११ मा गएको ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको मौसम पूर्वानुमान निकायले तयार पारेको नयाँ प्रणालीअन्तर्गत पहिलो परामर्श जारी गरेपछि जनता निकै चिन्तित भएको हुनसक्ने र यस्तो अवस्थामा विदेश जानु राम्रो नहुने निश्कर्षमा पुगेको बताए । दक्षिणी टापु क्युशूमा बिहीबार गएको भूकम्पका कारण ट्राफिक बत्ती र कारहरू हल्लिएका थिए र भाँडाकुँडाहरू अलमारीबाट खसेका थिए, तर कुनै गम्भीर क्षति भने भएको छैन ।

आगलागी तथा विपद् व्यवस्थापन निकायले भूकम्पका कारण ठूलो क्षति नपुगेको तर केही व्यक्ति घाइते भएको जनाएको छ । चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानी द्वीपसमूहमा साना ठूला गरी हरेक वर्ष करिब एक हजार ५०० वटा भूकम्प आउने गरेका छन् ।

उन्नत भवन प्रविधि र राम्रो आपतकालीन उद्धार अभ्यासका कारण ठूला कम्पनमा पनि प्रभाव सामान्य रहनु जापानी विशेषता हो । सरकारले आगामी ३० वर्षमा महाभूकम्प जाने सम्भावना ७० प्रतिशत रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया