टोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदैं गर्दा कलाकारहरुले धमाधम तीजका गीतहरु बजारमा ल्याउने क्रम जारी छ । यसै मेसोमा जापानलाई कर्मथलो बनाउँदै आएकी गायिका समिना खड्का लोहनीको तीज गीत ‘घरै धानि’छु’ बजारमा आएको छ ।
उनलाई गायक सूर्य खड्काले स्वरमा साथ दिएका छन् । खड्काको शब्द र संगीत रहेको घरै धानि’छु’ तीजे भाकामा एउटी नारीले माइती र घरलाई संगसंगै समन्वय गर्दै लैजान सक्ने हो भने सबैको प्यारो हुन सकिने सन्देश दिन खोजिएको छ । जब एउटी नारी बिबाहित भएर पराईको घरलाई आफ्नो घर बनाउन पुग्छिन् त्यहि दिनदेखि नारीको काँधमा थपिएको गह्रुङगो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै माइती र घर दूबैको बीचमा रहेर समन्वयकारी भूमिका निभाउन सकियो भने माइतीको मात्रै नभएर घरको पनि प्यारी बन्न सकिन्छ भन्ने सकारात्मक भाव गीतले बोकेको छ । यसरी माइती र घर दुबैतिरकी प्यारी हुन सक्नु नै नारी महानता हो भन्ने अर्को सन्देश दिन खोजिएको यस तीजको गीतमार्फत नारीहरुलाई आफ्नो जिम्मेवारी र कर्त्तब्यबोधप्रति पनि सचेत रहन अपिल गरिएको छ ।
उसो त गायिका लोहनी जापानका सानाठूला विभिन्न साँगीतिक कार्यक्रमहरुमा धेरै अगाडिदेखि सरिक हुँदै आईरहेकीले जापानको नेपाली समुदायमा उनको नाम नयाँ भने होईन तथापि औपचारिकरुपले साँगीतिक क्षेत्रमा यो उनको पहिलो कोसेली हो ।
उनी भन्छिन्- ‘स्कुल पढ्दाखेरि नै सानै देखि गीतसंगीत भनेपछि हुरुक्कै हुने र भाग लिईहाल्ने स्वभावकी थिएँ, गाउँघरमा हुने मेला, पर्व तथा पूजाआजामा रमाईलोका लागि भजनकिर्तन तथा सामान्य दोहोरी गाईन्थ्यो । आफ्नै आवाजमा एउटा गीत रेकर्ड गराउने धेरै पहिलेदेखिनै सपना थियो, चाँजोपाँजो मिलिरहेको थिएन, यसपटक भाइ सूर्यको साथ सहयोग र जापानमा रहनुभएका मेरा आदरणीय मित्रजनको प्रेरणाबाट पहिलो कोसेली यहाँहरुमाझ पस्केकी छु, त्यसका लागि म धेरै धेरै आभारी छु । गीत हेरेर र सुनेर प्रतिक्रिया दिनुहुने छ भन्ने बिश्वास लिएकी छु । जसले गर्दा मलाई अझ अगाडि बढ्न हौसला मिलोस् |’
‘घरै धानि’छु’ तीज गीतमा तुलसी सापकोटाको मुख्य अभिनय रहेको छ, गीतको नृत्य अभिनयमा उनी गजबले जमेकी छिन् । उनलाई उनका साथीहरुले सघाएका छन् । गोविन्द विष्टको फोटोग्राफी तथा निर्देशन रहेको उक्त गीतको छायाङ्कन जापानमै गरिएको थियो । निर्माण टिमका अनुसार गीतमा प्रयोग भएका शब्द र भाव टिपिकल नेपाली जनजीवनको परिवेशमा आधारित भएकोले उक्त गीतलाई धेरैले मन पराउने अपेक्षा गरिएको छ ।
घरै धानि’छु’ गीत गायक सूर्य खड्काको युट्यूब च्यानलबाट हिजो मंगलबार रिलिज भएको हो । गीत रिलिज भएकै दिन पारेर मंगलबार सांझ टोकियोमा एक भेटघाट कार्यक्रमको आयोजना गरी गीतको सार्बजनिकरण गरिएको छ । सो अवसरमा गायिका लोहनीलाई बधाई तथा सांगीतिक यात्रामा थप सफलताको कामना गरिएको थियो ।***