Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – युवालाई विदेश पलायन हुन नदिन योजना र रोजगारीको अवसर सिर्जना गर्नुपर्ने दाङका एक वडाध्यक्ष आफै विदेश उडेका छन् । दाङको राप्ती गाउँपालिका-८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर विदेश उडेका हुन् ।

२०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीका लागि बेलायत गएको उनकी श्रीमती संगीता गुरुङले जानकारी दिएकी छन् । गुरुङ यही साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।

वडाध्यक्ष गुरूङ पदबाट राजीनामा नै नदिई विदेश गएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताएका छन् । ‘वडाध्यक्ष विदेश जाने हल्ला सुनेपछि साउन १६ को कार्यपालिका बैठकमा उहाँलाई त्यसबारे सोधेको थिएँ । ऋण लागेको छ, घर व्यवहार मिलाउन केही समय बेलायत जान्छु भनेर भन्नु भएको थियो । तर कति समयका लागि बेलायत बस्ने हो त्यस दिन भन्नु भएन । कति ऋण छ र त्यो कसरी लाग्यो भन्ने पनि खुलाउनु भएको थिएन,’ गाउँपालिका अध्यक्ष विष्टले भने ।

वडा सचिव असलेखकुमार चौधरी वडाध्यक्ष गुरूङले गत साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेको चिठी दिएको बताउँछन् । ‘चिठीका आधारमा साउन १७ देखि लागू हुने गरी वडा सदस्य पुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सरेको छ,’ उनले भने ।

वडाध्यक्ष गुरूङले आफू केही समय विदेश जाने र राम्रोसँग कार्यालय चलाउन भनेको उनले बताए । ‘बेलायत जान्छु र केही समय काम गरेर बस्छु पनि भन्नु भएको थियो,’ उनले भने । चौधरीका अनुसार वडाध्यक्ष गुरूङ साउन २० मा बेलायतका लागि उडेका थिए । उनले आफू बेलायत पुगिसकेको जानकारी पनि दिइसकेका छन् ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी पुनका अनुसार वडाध्यक्ष गुरूङले कति समय बेलायत बस्ने भन्ने कुरा खुलाएका छैनन् । ‘आफू स्वदेश नफर्कदा सम्मका लागि भनेर उहाँले कार्यवाहकको जिम्मेवारी दिनुभएको छ,’ उनले भनिन्, ‘वडाध्यक्ष केका लागि विदेश गएको हो पनि मलाई थाहा छैन, उहाँको व्यक्तिगत कुरा पनि हो त्यो ।’

आमाको उपचार गर्दा, २०७९ को स्थानीय चुनावमा उठ्दा र सन्तानलाई शिक्षादीक्षा दिँदा ऋण लागेको वडाध्यक्षको परिवारका सदस्यहरूको भनाई छ । ‘गाउँकै मानिसबाट ऋण लिएका हौं, करिब ५० लाख ऋण लागेको छ,’ वडाध्यक्षको पारिवारिक स्रोतले भन्यो, ‘जग्गा जमिन पनि नभएकोले विदेश गएर नै कमाउनुपर्ने बाध्यता आइपर्‍यो ।’

वडाध्यक्ष गुरूङका दुई छोरा छन् । उनीहरू विद्यालय तहमै पढ्छन् । वडाध्यक्ष गुरूङका बुबा निमबहादुर बेलायतका निवृत्त सेना थिए। उनको १७ वर्षअघि नै प्यूठानमा मृत्यु भइसकेको छ । निमबहादुरको मृत्युपछि उनकी श्रीमती बालिकादेवीका नाममा पेन्सन पनि आउने गर्थ्यो । तर उनको पनि गत वर्ष निधन भइसकेको छ ।

तपाईको प्रतिक्रिया