काठमाडौं – एक साता बीचमा नेपालका दुई स्थानमा गरी १० जनामा हैजा पुष्टि भएको छ । ललितपुरको गोदावरी क्षेत्रमा पुष्टि भएको हैजा नियन्त्रणमा आउने क्रममा रहेको अधिकारीहरूले ठानिरहँदा कैलालीको धनगढीमा पनि ३ जनामा हैजा पुष्टि भएको हो ।
तर ललितपुर र धनगढीमा देखिएका हैजाबीच सम्बन्ध भने नदेखिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए । ‘गोदावरीमा देखिएको हैजा बाहिर फैलिएको अहिलेसम्म देखिएको छैन,’ उनले भने ।
नेपालले बर्सेनि वर्षा याममा बाढी र पहिरोको सामना गर्नु मात्र होइन, सुरक्षित खानेपानीको अपर्याप्त आपूर्ति र खुला दिसाको उच्च दरका कारण ग्रामीण तथा शहरी क्षेत्रमा हैजाको डर बढ्ने गर्छ । सन् २००९ मा मध्य पश्चिम क्षेत्रको जाजरकोटबाट सबैभन्दा ठूलो हैजाका प्रकोप रिपोर्ट गरिएको थियो । त्यसबाट सयौँले ज्यान गुमाएका थिए । यस्तै, कपिलवस्तुमा विसं. २०७८ मा कृष्णनगर नगरपालिकासहित तीन नगरपालिकामा हैजाको प्रकोप देखिएको थियो ।
के हो हैजा ?
- हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ
- भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ
- हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ
- गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ
- अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्
हैजाका लक्षणहरू
हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ । त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने चिकित्सकहरू बताउँछन् ।
अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने गर्छ । बिरामीहरूमा अधिक थकान र बेचैनी पनि हुनसक्छ । केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ ।
हैजा एक आत्यधिक चाँडो सर्ने रोग हो । विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ । हैजाको जीवाणु मानिसको शरीरमा छिरेको १२ घण्टादेखि पाँच दिनमा लक्षण देखिन थाल्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हैजा प्रकोप वा महामारीकै रूपमा फैलने जोखिम भने तत्काल नरहेको बताए । ‘यदि त्यो ठाउँ सिल नगरी त्यत्तिकै छोड्दिने हो । त्यहाँको पनि सबैको स्वास्थ्य परीक्षण नगर्ने हो भने त्यहाँबाट समाज समाजबाट सहर हुँदै महामारी र प्रकोपको रूप लिने हो,’ उनले भने, ‘नेपालमा हैजाको कीटाणु छन् भन्ने देखिएको छ । आत्तिइहाल्न पर्ने अवस्था होइन ’
हैजाको मुख्य कारण
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ,’ उने भने ।
डा. पुनले मुख्यतः तीनवटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउनुहुन्छ । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने डा. पुनले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष १३ देखि ४० लाख मानिस हैजाबाट पीडित हुन्छन् र २१ हजारदेखि एक लाख ४३ हजार मानिसको मृत्यु हैजाबाट हुने गर्छ ।