Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल गरेको छ । समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीसँग छलफल गरेको हो ।

छलफलमा बागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानून अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भिमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौं महानगरपालिकाबाट विभागिय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको सभापति सूर्य थापाले जानकारी दिए । छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, इमेज, साहारा, समानतालगायतका सहकारी संस्थामा केन्द्रित थियो ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले स्थानीय तह र प्रदेशस्तरमा सहकारी संस्थाहरूको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको बताए । बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदन साथै सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिइएको थियो । ‘काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखा परेको प्रवृत्तिको बारेमा हामीले छलफल गर्‍यौं,’ उनले भने, ‘सुप्रिम सहकारीको बारेमा प्रदेश रजिष्ट्रारको कार्यालयले तथ्य विश्लेषण गरेको रहेछ त्यहाँको । त्यस बारेमा पनि छलफल भयो ।’

हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा ४ करोड ८८ लाख हजार २ सय ७१ रूपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सीधै २० लाख र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको थापाले बताए । सबैगरी करिब साढे ५ करोड रूपैयाँ सूर्यदर्शन सहकारीबाट गएको थापाले जानकारी गराए । जीबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरूको मार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको उनको भनाई छ ।

एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको थापाले सुनाए । थापाका अनुसार कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने पनि तथ्य प्राप्त भएको छ ।

सबै पार्टीका मान्छे सहकारी ठगीमा
संसदीय समितिका सभापति थापाले प्रमुख सबै पार्टीमा आबद्ध मानिसहरू सहकारी ठगीमा जोडिएको पाइएको बताए । ‘केही राजनीतिक आवरणमा छन् । कोही एमालेका, कोही कांग्रेसका कोही माओवादी केन्द्रका र कोही स्वतन्त्र पार्टीसँग नजिक छन्,’ उनले भने, ‘ती सहकारीको आवरणमा देखा परेका राजनीतिक संरक्षणमा रहेका जोकोही व्यक्ति भए पनि ठगीको नियत, उद्देश्य र व्यवहार गरेका व्यक्ति अपराधमा संलग्न हुन् भन्ने ढङ्गले समितिमा छलफल गरिरहेका छौँ ।’

रविको बयान लिने
समिति सभापति सूर्य थापाले सहकारीको बचत अपचलनमा पीडक भएको आरोप लागेका व्यक्तिहरूलाई पनि समितिले बोलाएर सोधपुछ गर्ने बताए । ‘सहकारीसँग सम्बन्धित जसलाई पीडक भनेर बचतकर्ताहरूले भन्छन्, ती पीडकहरूसँग सोधपुछ गर्ने तयारीमा हामी छौँ,’ उनले भने।

सहकारी सञ्चालकहरू केही फरार, केही विदेशमा र केही जेलमा रहेका कारण तीनका प्रतिनिधिमूलक व्यक्तिहरूसँग समितिले सोधपुछ गर्ने तयारी छ । रास्वपा सभापति रवि लामिछानेलाई पनि बोलाएर सोधपुछ गरिने समिति सदस्य ईश्वरी न्यौपानेले बताइन् । ‘निवर्तमान गृहमन्त्री रवि लामिछानेको संलग्नता धेरै ठाउँमा देखिएको छ । गोर्खा मिडिया र सूर्यदर्शन अनि उहाँको नाम जोडिएको धेरै रकम छ,’ उनले भनिन्, ‘पाँच करोड ८८ लाख त एउटै सहकारीमा मात्र देखिएको छ। त्यस्तो धेरै रकम होला, हामीले उहाँलाई पनि बोलाउँछौँ ।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म ४ हजार ४ सय ३५ जना सर्वसाधारण विभिन्न १७ वटा सहकारी संस्थाबाट आफ्नो बचत फिर्ता लिन संघर्षरत छन् । ती सहकारी संस्थाहरूमा सर्वसाधारणको २६ अर्ब २३ करोड रुपैयाँ बचत फसेकोमध्ये २५ अर्ब ६८ करोड रुपैयाँ बचत फिर्ता पाउन बाँकी छ। समितिका अनुसार बचतकर्ताहरूको हालसम्म ५४ करोड ८१ लाख रुपैयाँ बचत फिर्ता भएको छ ।

पहिलो बैठक बसेको मितिले तीन महिनाको समय दिइएको सहकारी छानबिन समितिलाई दिइएको निर्धारित अवधि आगामी भदौ २२ गतेबाट सकिँदै छ । बीबीसीको सहयोगमा 

तपाईको प्रतिक्रिया