समाचार सुन्नुहोस :
काठमाडौँ – सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टम समस्या परेको हो ।
अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।
‘बिहान बेलुका राम्रै रहेको तर दिउँसो लोड बढेपछि समस्या आउने गरेको जानकारी आएको छ । तर के हो प्राविधिकहरूले काम गरिरहेका छन्’ विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने । तर यता सर्भर डाउन भएर काम नहुँदा लाखौं सेवाग्राहीहरू समस्यामा परेका छन् । सवारी जाँचपास, दर्ता तथा नवीकरणका लागि समस्या भोग्नुपरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।