समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावमा १८८ सांसदले समर्थन जनाए। बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो। प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन प्राप्त भएको छ। २६३ सांसदको उपस्थितिमा ७४ मत विपक्षमा परेको र १ मत तटस्थ रहेको सभामुख देवराज घिमिरेले घोषणा गरे।
नेकपा (एमाले) का अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आइतबार विश्वास मत लिएका हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री ओलीको प्रस्तावको पक्षमा मतदान गरेका थिए।
विपक्षमा भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल उभिएका थिए। असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो। सहमति अनुसार पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ।