काठमाडौं – उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् ।
उपसभामुख रानामगरले सन् २०२३ फेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।
रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन आग्रह गरेकी छन् । उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरूलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकोले प्रश्न उठेको हो ।
उपसभामुख समेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भएपनि उनले सिफारिस गरेका व्यक्तिहरू संसद र संसद सचिवालयसँग सम्बन्धी नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ । विभिन्न सञ्चारमाध्यममा उनले आफूले अन्जानबस सिफारिस गरेको प्रतिक्रिया दिएपनि यस प्रकरणमा उनको यो प्रतिक्रिया पर्याप्त हुने देखिँदैन । यो विषय त्यति बेला नै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि उठेको छ ।
सिफारिस गरिएका व्यक्तिले उजुरी गरेको आधारमा पार्टीको उच्च तहमै छलफल भएको र यो विषयलाई आन्तरिक रुपमा नै सामसुम पारिएको देखिएको छ । अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भएपनि पछि ‘लेनदेन मिलेको’ भन्दै रास्वपाले यो विषय गुपचुप राखेको तथ्य खुलेको छ । यो विषयमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, तत्कालीन महामन्त्री मुकुल ढकाल र संगठन विभागका सचिव शंकर श्रेष्ठबीच विभिन्न चरणमा छलफल भएको थियो ।पछि पैसा डुबेको भनेर गुनासो गर्ने व्यक्तिले नै कुरा मिल्यो भनेपछि लेनदेन मिलेको भन्ने बुझेर चासो नराखेको रास्वपा संगठन सचिव शंकर श्रेष्ठ बताउँछन् । उपसभामुख रानाले जस्तो दलिल दिए पनि यो विषयले अब राजनीतिक रूप लिने निश्चित भएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ ।
उपसभामुखको भूमिका संसद्मा सभामुखजत्तिकै महत्त्वपूर्ण रहन्छ । सभामुख नहुँदा उपसभामुखले नै प्रतिनिधिसभा सञ्चालन गर्ने हो । अझ संवैधानिक परिषद्मा पनि उपभामुख पदेन सदस्य हुने व्यवस्था छ । यति संवेदनशील जिम्मेवारीमा भएकी उनले आफ्नो कार्यक्रमसँग असम्बन्धित व्यक्तिहरूको सिफारिस गर्दै अमेरिकी दूतावासमा पत्र लेखेको विषयलाई पार्टीले सामान्य भनेर दबाउन खोजेको थियो ।
तर, सभामुख देवराज घिमिरेले भने यो विषयमा गम्भीर चासो दिएका छन् । सभामुखलाई उद्धृत गर्दै उनका सञ्चारविज्ञ शेखर अधिकारीले भने, ‘उपसभामुखले दूतावासलाई पत्राचार गरेको विषयमा सबै कुरा बुझ्नुपर्छ अनि प्रतिक्रिया सार्वजनिक गरिनेछ । त्यसअघि छानबिन तथा सोधपुछ गरी उक्त विषय हो वा होइन भन्ने यकिन गर्नुपर्छ ।’