समाचार सुन्नुहोस :
काठमाडौँ – वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा हराएका एञ्जल बसका चालक जवाहीर महतोका तीनजना छोराछोरीको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिने घोषणा गरेको छ। राष्ट्रिय समाचार समिति (रासस)ले मङ्गलबार ‘सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा प्रकाशित समाचारले घरमुली हराएपछि सन्तानको पालनपोषण र शिक्षामा देखिएका समस्याहरूलाई उजागर गरेको थियो।
समाचार प्रकाशन भएको भोलिपल्टै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जवाहीर महतोको परिवारसँग भेट गर्दै महानगरले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने घोषणा गर्नुभयो। सिंहले भने, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ।”
जवाहीर महतोका एक छोरी र दुई छोरा छन्। महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदीमा खसेको थियो। नगरप्रमुख सिंहले आजै एञ्जल बस दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताउनुभयो।