समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, प्रधानमन्त्रीले अबको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त गर्ने योजना बनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते आइतबार ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। त्यसको भोलिपल्ट, असार ३१ गते सोमबार, ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
संवैधानिक प्रावधानअनुसार, प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ। प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग परामर्श गरी साउन ६ गते विश्वासको मत लिने निर्णय गरेका हुन्, बर्तौलाले जनाएका छन्। साउन ६ गते नै प्रधानमन्त्री ओलीले संसद बैठकबाट देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरेका छन्।