समाचार सुन्नुहोस :
काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक सवार रहेको खुलासा भएको छ।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित तीन कर्मचारी, १४ जना यात्री र सात भारतीय नागरिक गरी कुल २४ जना सवार थिए, भनी प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। हालसम्म जिल्ला प्रशासन कार्यालयले सात भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ।
त्यसै मार्ग हुँदै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको अर्को बस पनि त्रिशूली नदीमा खसेको छ। नदीमा खसेका दुवै बस अझै फेला परेका छैनन्। ती बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन्।पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त टोली परिचालन गरेका छन्।