समाचार सुन्नुहोस :
काठमाडौँ – बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ। बिपिडिबीले वर्षायामको ६ महिनामा ४० मेगावाट विद्युत् खरिद गर्नका लागि प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएको जानकारी गराउँदै सम्झौताका लागि सोमबार पत्राचार गरेको हो।
बिपिडिबीले १६ पुस ०८० मा नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्न पाँच वर्षसम्मको लागि बोलपत्र आह्वान गरेको थियो। प्राधिकरणले तोकिएको ढाँचामा बिक्री दरसहितको बोलपत्र पेस गरेको थियो र स्वीकृत भएको छ। प्राधिकरणले सात कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बिपिडिबीलाई दिनुपर्नेछ, त्यसपछि बिपिडिबीले सम्झौताको मस्यौदा उपलब्ध गराउनेछ। सम्झौता २८ दिनभित्र सम्पन्न हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाँकी प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु भइसकेको छ। सम्झौता भएपछि विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाइनेछ। प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ।
वर्षायामको ६ महिना, १५ जुन – १५ नोभेम्बरसम्म, प्राधिकरणले बंगलादेशलाई ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बिक्री गर्नेछ, प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ। विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन हुँदै बंगलादेश निर्यात हुनेछ।