समाचार सुन्नुहोस :
काठमाडौँ – मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान पुनः सुरु भएको छ। लगातारको वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान मौसममा सुधार आएपछि आजदेखि पुनः सञ्चालनमा आएको हो।
रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख कृष्ण रिजालका अनुसार, समिट र तारा एअरले आज मौसम सुधार भएपछि उडान गरेका छन्। हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य भएका थिए। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लागेर हवाई उडान अवरुद्ध भएको थियो।
‘गाडीबाट जाने भन्या पनि बाटो बिग्रेको छ, जहाज पनि आउँदैन। सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ, बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाएर खुसी लागेको छ,’ छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए।