Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

बिहानीको घाममा भिटामिन डी पाइन्छ । जुन हाम्रो शरीरको लागी आवश्यक पनि छ । तर पछिल्लो समय भने मानिसहरू बिहान ढिला उठ्ने र घरभित्रै, कोठाभित्रै बसिरहने, बाहिरी वातावरणमा घुलमिल नहुने हुँदा शरीरमा भिटामिन डी को कमी हुने समस्या हुन्छ ।

बिहानीको पारिलो घाम ताप्दा मात्रै पनि पाइने भिटामिन डी को कमी अहिले धेरैको समस्या बनेको छ । विशेष गरी यस्तो समस्या गाउँघरको तुलनामा काठमाडौँ उपत्यकामा बसोबास गर्नेहरूलाई बढी हुने गर्छ ।

भिटामिन डी को मुख्य स्रोत बिहानीको पारिलो घाम नै हो । ८० देखि ९० प्रतिशतसम्म भिटामिन घामबाटै पाइन्छ । १० प्रतिशत भिटामिन भने अण्डाको पहेँलो भाग, माछा र चीजबाट पाइने पोषणविद्हरू बताउँछन् ।

घाम लागिरहने परिवेश भएको नेपालमा अहिले धेरै महिलालाई भिटामिन ‘डी’ को कमी भएको देखिएको र त्यस मध्ये पनि गर्भवतीलाई अझ बढी सताउने गरेको तथ्याङ्क छ ।

घाम ताप्दा कालो हुने डरले पनि मानिसहरूमा भिटामिन डी को कमी भइरहेको छ । धेरै मानिसहरू सनस्क्रिन क्रिम र पुरै शरीर ढाक्ने कपडा लगाएर घाम तापिरहेका हुन्छन् जसले गर्दा शरीरमा भिटामिन डी पुग्न पाउँदैन ।

सूर्यको किरणमा भएको पराबैजनी किरण (अल्ट्राभ्वाइलेट रे) शरीरभित्र प्रवेश गरेपछि मात्रै त्यसले छालाका कोषमा हुने कोलेस्ट्रोलबाट भिटामिन डी संश्लेषण हुन्छ । त्यसैले नाङ्गो छालामा सूर्यको किरण नपर्दासम्म शरीरमा भिटामिन डी बन्दैन ।

भिटामिन डी को कमी आफैमा रोग नभए पनि विभिन्न रोगका कारक भने हो । भिटामिन डी को कमी रोग हो भन्न मिल्दैन तर यसको कमीले मुटुमा समस्या, हड्डीमा समस्या र रोग प्रतिरोधात्मक क्षमतामा कमी लगायतका समस्या उत्पन्न हुन्छ ।

यस्तै भिटामिन डी को कमीले हाड कमजोर हुन्छ । त्यस्तै मुटुको चाल अस्वाभाविक हुने, उदासी बढ्ने र नकारात्मक सोच बढ्ने चिकित्सकहरू बताउँछन् । यसकारण बिहानीको घाम सकेसम्म ताप्नुहोस् ।

तपाईको प्रतिक्रिया