आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शपछि राजीनामा नदिएर फर्किएका हुन् ।

प्रधानमन्त्रीले आफूले संसद्‌बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘राजीनामा बुझाउन गएका थियौं । सम्माननीय प्रधानमन्त्रीले छलफल गर्नुपर्‍यो भन्नुभयो । कुरा गर्यौं,’ उनले भने, ‘आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद्लाई फेस गर्छु भन्नुभयो । ठिकै छ भनेर हामी फर्कियौं ।’

प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् । सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

तपाईको प्रतिक्रिया