शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

काठमाडौं – नयाँ सत्ता समीकरण बनिसक्दा समेत नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाएको छैन । मंगलबार एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी थियो ।

तर अन्तिम समयमा राजीनामाको तयारीमा रहेका मन्त्रीहरूको राजीनामा आएन । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएन । बरु आजसम्म राजीनामा दिन आग्रह गरेको छ । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने संसद्को सामना गर्ने तयारी गरे ।

माओवादी पदाधिकारी बैठकले संसद्को सामना गर्ने निर्णय गरेको छ । यस्तोमा सरकारलाई दिएको समर्थन एमालेले फिर्ता नलिएसम्म प्रधानमन्त्रीलाई दबाब देखिँदैन । साँझसम्म एमालेले यसबारे थप केही निर्णय गर्नसक्ने सम्भावना भने छ । यसका लागि एमाले प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा वा संविधानअनुसार सिधै ७६ (३) अनुसार सरकार बन्ने अवस्था के हुन्छ भन्नेमा कानुनी परामर्शमा छ ।

ठूलो दलको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने जोखिम पनि एमालेले देखेको छ । त्यसैले पनि एमालेले मंगलबारको सचिवालय बैठकमा समर्थन फिर्ताको निर्णय गरेन । कानुनविद्हरूले यसबारे आ-आफ्नै व्याख्या अगाडी सारेका छन् । सरकारमा रहेका मन्त्री फिर्ता बोलाउँदा प्रधानमन्त्री प्रचण्डले केही महत्वपूर्ण निर्णय लिनसक्ने डर पनि एमालेमा देखिन्छ ।

नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भइसकेको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री सहभागी छन् । कांग्रेसले एमालेसँगको सहमति अनुमोदन गर्न आज संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस बैठकपछि एमाले-कांग्रेसले गठबन्धनको आगामी बाटो तय हुनेछ ।

तपाईको प्रतिक्रिया