बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि रातारात सत्ता समीकरण फेरिएको टिप्पणी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गरे ।

‘सबैलाई थाहै छ । तपाईँहरू नै भन्नु हुन्थ्यो फाइल खोल्नु पर्छ । अब फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने । यो बेचैनीको अर्को अर्थ के होला त ? एकाएक संविधान जोगाउनु पर्ने चिन्ता आयो । यो संविधान जोगाउनु पर्ने, कसलाई जोगाउन खोजेको ?,’ उनले प्रश्न गर्दै भने, ‘सबैले बुझेकै कुरा हो । ठिक छ यसमा मेरो केही भन्नु छैन। संवैधानिक प्रक्रिया सुरु होला त्यसपछि अरू गर्ने कुराहरू छँदैछ । अहिले यति नै भन्न चाहन्छु ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बढेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गरेका छन् । उनले केही फाइल खोल्ना साथ एक रातमै सरकार ढलेको बताए । कांग्रेस एमालेका नेताले संविधान जोगाउन र संशोधन आवश्यक रहेकाले नयाँ गठबन्धन बनाउनु परेको बताइरहँदा लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको टिप्पणी गरे ।

बेचेन झा पक्राउ परेकाले गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले गरेको प्रश्नमा लामिछानेले बेचैनीको अरू के अर्थ होला र भन्दै प्रतिप्रश्न गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए । सोही प्रकरणमा शुक्रबारै काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया