बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर फर्किएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री प्रचण्ड केही समय अघि शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। एमाले र कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएसँगै राजनीतिक संकटमा परेका प्रधानमन्त्री प्रचण्ड, पदाधिकारी बैठक सकिएपछि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने तयारीमा छन्। माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ। तर, एमाले र कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनमा मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन्।

नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ। सहमति अनुसार, पहिलो चरणमा एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया