बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको बताए । प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं,’ उनले भने, ‘विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’

उनले कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा आफूहरूले बुझ्न बाँकी रहेको पनि बताए । ‘पछिल्ला परिवर्तन उल्टने त होइनन् ? कतै २०४७ को संविधान उल्टाउन खोजिएको त होइन ?,’ उनले भने, ‘यसबारे हामी विभिन्न पक्षसँग छलफल गर्छौं ।’

प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो हुँदा विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ ।

तपाईको प्रतिक्रिया