बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ व्यक्तिहरूलाई काठमाण्डुको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा काठमाण्डुको कमलपोखरीमा बस्दै आएका भारतको उडिशा राज्यका ४० वर्षीय कलाकार दास, ललितपुर धोबीघाटमा बस्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७ का ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाण्डुको डल्लुमा बस्ने धादिङको निलकण्ठ नगरपालिका–२ का ३८ वर्षीय दीपक थापा, काठमाण्डुको लाजिम्पाटमा बस्ने दाङका ३५ वर्षीय बसन्त चौधरी, र काठमाण्डु महानगरपालिका–१५ चौमतीमा बस्ने ५५ वर्षीय रविन महर्जन रहेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका–७ विष्ट गाउँका ३१ वर्षीय पुरुषलाई नक्कली सुनको मूर्ति देखाई ठगी गरेको आरोपमा कलाकार दाससहितका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति १ थान र नगद १४ लाख रूपैयाँ बरामद गरेको छ। यस घटनामा सम्बन्धित नक्कली सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया