बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानको एघारौं वार्षिक साधारण सभा गत शनिबार शिजुओका प्रिफेक्चरको इजु सिटीमा सम्पन्न भएको छ ।

प्रोमोटरहरुको गणपुरक उपस्थिति रहेको एभरेष्ट इन्टरनेशनल स्कुल जापानको साधारण सभामा स्कुलको विविध पक्षमा गहन समीक्षा गरिएको थियो भने आगामी कार्ययोजना तथा भावी मार्गचित्रका बारेमा घनिभुत छलफल गरिएको थियो । जसअनुसार हालसम्म नेपाल एजुकेशन सेन्टर जापान एनपिओको मातहतमा सञ्चालन हुँदै आएको एभरेष्ट स्कुललाई ब्यवसायिक मोडेलमा लैजाने नीतिलाई प्रभावकारीरुपमा कार्यसम्पादन गर्न सहज होस् भन्ने उद्देश्यले संशोधनसहितको प्रस्तावित नियमावली माथि प्राप्त सुझावहरुलाई समेट्ने गरी उक्त नियमावली पारित गरिएको छ । नियमावली अपडेट उपसमितिका संयोजक ओम गुरुङले संशोधित नियमावली प्रस्ताव गरेका थिए ।यसैगरी एभरेष्ट इन्टरनेशनल स्कुलको कक्षा १ भन्दा मुनिको किन्डरगार्टेन तहको प्रि-एजुकेशन सेवा एभरेष्ट किड्सलाई फ्रेञ्चाइज मोडेल अनुसार जापानको संभावित अन्य सहरहरुमा पनि बिस्तार गर्ने अवधारणाको दस्तावेजकारुपमा यसको प्रष्ट भिजनसहितको परिभाषा, उद्देश्य, बिधि-प्रक्रिया र मापदण्डका आधारहरु सहितको कार्यबिधि तयार गरी कार्यान्वयनमा लैजाने निर्णय पारित भएको छ ।

साधारण सभाले स्कुलको पछिल्लो आर्थिक वर्षको आर्थिक प्रतिबेदन पनि पारित गरेको छ । स्कुलका सञ्चालक समितिका उपाध्यक्ष इ. मेघराज नेपालद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन पारित गरिएको हो ।

यसैगरी एभरेष्ट स्कुललाई एनपिओ मोडलबाट ब्यवसायिक मोडलमा रुपान्तरण गर्ने प्रक्रियामा रहेको हालको अवस्थामा प्रोमोटरहरुको लगानीको सुरक्षाको ग्यारेन्टी, आ-आफ्नो स्वामित्वमा रहने शेयर कित्ता हिस्सा, यसले ग्रहण गर्ने प्रतिशताङ्क भार र यसका कानूनी प्रक्रिया लगायतका बिषयमा स्कुलका सञ्चालक समितिका सल्लाहकार महेशकुमार श्रेष्ठले प्रकाश पारेका थिए । स्कुलको समग्र आर्थिक पाटोलाई सिंहावलोकन गर्दै आईरहेका उनले भने – ‘समग्रमा स्कुलको फिनान्सियल हेल्थ राम्रो छ, हामीले मिहिनेत गरेर अझै गुणस्तरिय शिक्षा दिन सक्नुपर्दछ र विद्यार्थी संख्या बढाउन सकिने आधारहरु प्रशस्त छन्, थप भौतिक पूर्वाधारहरुको ब्यवस्था गर्नुपर्ने अबको चुनौतीलाई सबै मिलेर समाधान गर्न सकिन्छ, यस अर्थमा पनि एभरेष्ट इन्टरनेशनल स्कुलको भविष्य धेरै राम्रो भएको प्रक्षेपण गर्न सकिन्छ ।’

यसैगरी आन्तरिक लेखा समितिका संयोजक भूषण घिमिरेले स्कुलका समग्र आर्थिक पक्षलाई नियमित अनुगमन गरी चुस्तदुरुस्त भए-नभएको हेर्न र कमीकमजोरी भएमा सुधारका लागि विद्यालय प्रशासनलाई सुझाव दिन बोर्डभन्दा बाहिरबाट सदस्यहरु रहने गरी एक अधिकार सम्पन्न आन्तरिक लेखा समिति हुनुपर्ने धारणा सहित आएको प्रस्तावलाई पनि साधारण सभाले पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष भवन भट्टको भर्च्युअल सभापतित्वमा एघारौं साधारण सभा सम्पन्न भएको थियो । सभामा सञ्चालक समितिकी सदस्य सगुन रानाको स्वागत भाषण रहेको थियो । प्रोमोटर समेत रहेका प्रिन्सिपल बिष्णुप्रसाद भट्टले एभरेष्ट इन्टरनेशनल स्कुल जापानको हालको अवस्था बारे बिस्तृतमा जानकारी गराएका थिए । उनले शिक्षक तथा कर्मचारीहरुको मनोबल बृद्धिका साथै प्रोत्साहनका लागि समय समयमा प्रशिक्षण कार्यक्रम तथा सेवा सुबिधामा समेत पुनर्बिचार गरिनुपर्ने धारणा राखेका थिए । यसैगरी प्रोमोटर तथा भाइस प्रिन्सिपल राजेन्द्र तामाङले स्कुलको स्थापना कालदेखि हालसम्मको गतिविधिहरुका प्रतिनिधिमुलक झलक समेटिएको श्रब्य-दृश्य सामग्री प्रस्तुत गरेका थिए ।

कुल ६५ जना प्रोमोटर मध्य ३७ जना भौतिक उपस्थिति र ४ जना भर्च्युअल गरी ४१ जना प्रोमोटरहरुको उपस्थिति रहेको साधारण सभामा प्रोमोटर सदस्यहरुले विभिन्न सुझाव दिएका थिए । जसअनुसार स्कुलको जति मात्रामा नेपाल लगायत नेपाल बाहिर प्रचारप्रसार हुनुपर्ने हो सो अनुरुप हुन नसकेकोले मार्केटिङमा अधिकतम जोड दिईनुपर्ने, महत्वपूर्ण निर्णयहरु गर्दा अलि बढि जिम्मेवार भएर गरिनुपर्ने, छलफल र सरसल्लाहको दायरालाई अलि फराकिलो बनाईनुपर्ने, प्रोमोटरहरुको सुझावलाई सुन्ने र सुनिने कल्चरको बिकास गरिनुपर्ने, गुणस्तरिय शिक्षा उपलब्ध गराउने सन्दर्भमा अधिकतम ध्यान दिईनुपर्ने, अधिवेशन तथा साधारण सभा जस्ता बिशेष समारोहहरु बिषयवस्तुमा केन्द्रीत भएर प्रशस्त समय लिएर छलफल गर्नुपर्ने भएकोले संभवभएसम्म विद्यालयकै सभाहल वा राजधानी टोकियोमै गरिनुपर्ने, घुमफिर जस्ता आउटिङ कार्यक्रम साधारण सभा तथा अधिवेशन पश्चात संभाब्यता र आवश्यकता हेरी आयोजना गर्ने लगायतका सुझावहरु दिएका थिए ।

यसैगरी साधारण सभाले विद्यालयको समग्र प्रशासनिक कार्यभार सम्हाल्ने गरी अबको तीन महिनाभित्रमा एकजना कार्यकारी प्रमुख (सिइओ) नियुक्ति प्रक्रियालाई अगाडि बढाउन विद्यालय प्रशासनलाई म्याण्डेट पनि दिएको छ । सञ्चालक समितिले गर्नुपर्ने कतिपय ब्यवस्थापकीय जिम्मेवारी प्रिन्सिपल लगायत शिक्षकहरुले गर्नु परिरहेकोले एकातिर पठनपाठन प्रभावित भईरहेको र अर्कोतिर शिक्षकहरुमा कार्यबोझ थपिएको अवस्थालाई मनन गर्दै यसको समाधान गर्न साधारण सभाले तत्काल सिइओ नियुक्ति प्रक्रिया अगाडि बढाउन म्याण्डेट दिएको हो ।

साधारण सभाको अन्तमा सभाध्यक्ष भट्टले भर्च्युअल सम्बोधन गर्दै सभामा उठेका बिषयमा पर्याप्त छलफल गरी उपयुक्त निर्णय गर्न सहयोग गर्ने सबै प्रोमोटरहरुलाई धन्यबाद ज्ञापन गर्दै सभाको समापन गरेका थिए । साधारण सभाको बोर्डका कार्यकारी सदस्य कमलचन्द्र आचार्यले सञ्चालन गरेका थिए । शिजुओका प्रिफेक्चरको इजुस्थित इतोयन होटल आतागावामा उक्त साधारण सभा भएको हो । प्रोमोटरहरुले दुईदिनसम्म स्कुलकै बिषयमा केन्द्रीत रही घनिभूत छलफल र अन्तरसंबाद गरेका थिए । ***

तपाईको प्रतिक्रिया