सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा फेल (नन ग्रेडेड) भएपछि रूपन्देहीका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । एसइई परीक्षामा फेल भएपछि जिल्लाको देवदह नगरपालिकाको एक बोर्डिङ स्कूलका विद्यार्थी पूजा न्यौपाने र सृष्टि गुप्ताले आत्महत्या गरेका हुन् ।

१५ वर्षीया पूजा र १८ वर्षीया सृष्टिले आफ्नै घरमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक (इन्पेक्टर) दीपेन्द्र बानियाँले जानकारी दिए । उनीहरू दुवै एसइई परीक्षामा अनुत्तीर्ण भएका थिए । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

बोर्डले यसपालि प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार नतिजा सार्वजनिक गरिएको थियो । परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अर्थात् अधिक संख्या ‘ननग्रेडिङ’ मा परेका छन् ।

एसइई परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ६५ जना विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत मात्रै कक्षा ११ मा भर्ना योग्य भएका छन् । बाँकी २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी ननग्रेडिङमा परेका हुन् । यीमध्ये १ लाख १५ हजार ८ सय ३४ जना विद्यार्थी दुई विषयमा फेल भएका छन् ।

यद्यपि ‘नन ग्रेड’ ल्याएका सबै विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका सबै विद्यार्थीहरूले परीक्षा दिन पाउने गरी निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया